काठमाडौं, २९ वैशाख-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकताको शैलीमाथि सांसदले उठाएको प्रश्नको सम्बोधन गर्दे उनले वर्तमान परिस्थितिको सबे कोणबाट सम्बोधन हुने गरि सरकारले प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका हुन् ।
सरकारले बजेटका प्राथमिकता समय, बदलिँदो विश्व परिस्थिति, नयाँ आकांक्षा र नयाँ आवश्यकताको आधारमा परिमार्जित गर्दै लैजाने उनले स्पष्ट पारे । पुरानै कार्यक्रम दोहोरिएको र कम्युनिष्टको सिद्धान्तअनुसार प्राथमिकता निर्धारण हुन नसकेको सांसदको आरोपको उनले खण्डन गरे । संविधानमा रहेका मौलिक हक र राज्यका निर्देशक सिद्धान्त पनि यथावत रहेको भन्दै उनले संविधानबाट निर्दिष्ट भएर पार्टीको सिद्धान्त अनुसार बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको स्पष्ट पारे ।
‘यो नेपाल कम्युनिष्ट पार्टीको सरकार हो र तेश्रो बजेटको सिद्धान्त र प्राथमिकता मैले पेस गर्दैछु । हाम्रो पार्टीको सिद्धान्त परिर्वतन भएको छैन’ उनले भने हाम्रा प्राथमिकता समयक्रममा नयाँ परिस्थितिको आधारबाट परिर्वतित भएका छन् । तर, वर्षैपिच्छे पार्टीको सिद्धान्त फेरेर बजेट ल्याउँदैन ।’