काठमाडौं, २८ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना सांसदहरुले नेपाली सीमा मिचिएको विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । सांसदहरु गणेश ठगुन्ना, दिपक प्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको ऐतिहासिक प्रमाण, तथ्यहरु, विभिन्न समयमा नेपाल र भारतका सरकारहरुले प्रकाशन गरेको नक्साले समेत प्रष्ट पारिसकेको अवस्थामा नेपाली भूमि मिचिएको भन्दै उनीहरुले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
सन् १८१६ को सुगौली सन्धीले स्पष्ट पारेको लिम्पियाधुराबाट निस्कने कुटीयङ्दी नै महाकाली नदी भएकाले सो पूर्वको ४ सय किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेकोले उक्त भूभाग फिर्ता लिइ नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गराउन माग गर्दै संविधानको धारा ५ र प्रतिनिधिसभा नियमावलीको दफा ८४ को व्यवस्था बमोजिम यो संकल्प प्रस्ताव पेश गरेका हुन् ।