रुपन्देही, २६ वैशाख-रुपन्देहीको समरीमाई गाउँपालिका-१ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् ।
समरीमाई-७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा २ दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव ३ दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी थिइन् । नेपाल आएको खबर पाएपछि गाउँलेको विरोधपछि उनलाई बेतकुइयाको भैसागाहन मदरसामा राखिएको थियो ।
उनको स्वास्थ्य जाँच नगरिक नै वडाध्यक्षले जबर्जस्ती घर लगेको उक्त क्वारेन्टाइनका स्वास्थ विभाग प्रमुख मुन्सीप्रसाद माझीले बताए । उनले भने, ‘वडाध्यक्षज्यूहरूले लैजाने भन्नुभएछ, हामीले त नलैजानुस् भनेकै हो तर उहाँले लगेर जानुभयो ।’ क्वारेन्टाइनमा अहिले २८ जना छन् । ती सबै भारतबाट आएका हुन् । क्वारेन्टाइनमा नेपाल प्रहरीको सुरक्षा टोली छ ।
क्वारेन्टाइनबाट जर्बजस्ती आफ्नो मान्छे लगेको भन्दै त्यहाँ बसेका अन्य व्यक्तिले पनि अब त्यहाँ नबस्ने भन्दै झगडा शुरु गरेको गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले बताए । उनले भने, ‘म जिल्लाभरिका स्थानीय तहका प्रमुखहरुको बैठकमा सहभागी हुन भैरहवा छु, मैले भर्खर सुनेँ । क्वारेन्टाइनमा बसेको मान्छेको स्वाब परीक्षण नगरी घर लैजान मिल्दैन ।’
क्वारेन्टाइनमा आएकाहरू सबैको रिपोर्ट नेगिटभ आएको छ । क्वारेन्टाइनमा बसेको मान्छेलाई यत्तिकै घर लग्न नपाइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनले भने, ‘मलाई जानकारी आएको छैन तर त्यसरी लैजानै मिल्दैन ।’ मर्चवार क्षेत्र भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी क्षेत्र हो । उक्त क्षेत्रबाट मानिसहरु राति नेपाल प्रवेश गरिरहेको गुनासो छ । रासस