पोखरा, २६ वैशाख -प्रदेश-५ मा कोरोना परीक्षणमा विश्वसनीय मानिएको पीसीआर किटको अभाव भएपछि ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाउन थालिएको छ ।पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्ट मानिएको प्रदेश-५ मा पीसीआर किटको अभाव भएपछि नमुना संकलन गरी पोखरा पठाउन थालिएको हो । अहिलेसम्म प्रदेश-५ बाट पठाइएका ६८ वटा नमुनाको पोखरामा रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गरिएको छ ।
परीक्षण गरिएका सबै स्वाबमा कोरोना नेगेटिभ देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
बिहीबार गण्डकीमा थप ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको छ । हालसम्म गण्डकी प्रदेशमा ६९० जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये बाग्लुङका २ जना संक्रमित निको भएर घर फर्केका छन् । ३ जनाको परीक्षणको नतिजा आउन बाँकी छ । परीक्षण गरिएका अन्यको परीक्षण नेगेटिभ देखिएको छ । गण्डकीमा ६३७७ जनाको आरडीटी परीक्षण गरिएको छ ।
कोरोना संक्रमणले त्रास बढेको बेला गण्डकीका केही ठाउँमा दादुराको महामारी देखिएको प्रतिष्ठानले जनाएको छ । पछिल्लो समय धादिङको रोराङ गाउँपालिकामा फैलिएको महामारी गोर्खा जिल्लाको गण्डकी गाउँपालिकामा पनि देखिएको प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
दादुरा महामारी देखिएपछि शुक्रबारबाट खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । ५ महिनादेखि ९ वर्षसम्मका बालबालिकाहरूका लागि दादुरा खोप कार्यक्रम सञ्चालन हुनेछ। हल सुरु गरिएको खोप वैशाख ३१ गतेसम्म प्रदेशभर सञ्चालनमा आउनेछ । खोपका लागि प्रदेशभर ४३ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।