बाँके, २२ वैशाख -नेपालगञ्जमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यहाँस्थित भेरी अस्पतालको आरटी पीसीआर यन्त्रमा परीक्षणका क्रममा आइतबार मात्रै १४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसअघि कोरोना संक्रमण देखिएका व्यक्तिलाई पछ्याउँदै जाँदा थप १४ जनामा संक्रमण देखिएको हो । आइतबार दिउँसो ९ जना र साँझ ५ जनामा कोरोना पोजेटिभ फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भेरीको कोरोना प्रयोगशालामा निरन्तर परीक्षण भइरहेको छ । शनिबार सङ्कलित ९० र आइतबार सङ्कलित ४ गरी ९४ स्वाबको परीक्षण भइरहेको श्रेष्ठले बताए । ‘अहिलेसम्म कति परीक्षण भयो भन्ने ठ्याक्कै यकिन भएन, अहिलेसम्म थप ६ जनामा पोजिटिभ भेटिएको छ’, उनले भने,‘ निरन्तर परीक्षण भइरहेको छ, मन्त्रालयले पुष्टि गर्दै जानेछ । ’
उनका अनुसार आइतबार साँझ भेटिएका नयाँ सङ्क्रमित पनि नेपालगञ्ज–८ स्थित जोल्हनपूर्वा आसपासकै भएको अनुमान छ । यससँगै नेपालगञ्जमा एकै दिन कोरोना पोजेटिभको सङ्ख्या १५ पुगेको छ । यसअघि १ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
नेपालगञ्जमा आइतबार फेला परेका नयाँ कोरोना सङ्क्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट सङ्क्रमित भएको पाइएको छ । नयाँ सङ्क्रमित सबै पहिलो पटक सङ्क्रमण देखिएका नेपालगञ्ज–८ डीएसपी रोडका ६० वर्षीयको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसावरिपरिका बासिन्दा भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
पहिलो सङ्क्रमित व्यक्तिले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउने क्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । फेला परेका सङ्क्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । उनीहरू कसैमा पनि कोरोनाको लक्षण नदेखिए पनि कोरोना सङ्क्रमण भएको थियो ।
श्रेष्ठका अनुसार पहिलो सङ्क्रमितको सम्पर्कमा आएका ९० जनाको शनिबार स्वाब सङ्कलन गरिएकाेमा ३० को नमुना परीक्षण गर्दा १५ जनामा कोरोना पोजिटिभ देखिएको हो । उनीहरूलाई उपचारका लागि खजुरास्थित आइसोलेसन अस्पतालमा पठाइएको छ । ९० मध्ये अझै ५४ जनाको रिपोर्ट आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने बताइएको छ ।
कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाले बताए । उनले कोरोना भाइरस जोसुकैमा पनि सङ्क्रमण हुने भएकाले घरबाट बाहिर निस्कन नहुनेमा जोड दिए ।
नेपालगञ्जस्थित मस्जिद तथा मन्दिरमा केही दिनअघि धर्मगुरुहरूको स्वाब परीक्षणका क्रममा पहिलो पटक नेपालगञ्जका ६० वर्षीय व्यक्तिमा शुक्रबार कोरोना सङ्क्रमण फेला परेको थियो ।