काठमाडाैं, १३ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रहरीको साइबर अनुसन्धान ब्यूरोमा उजुरी दिएका छन् । फेसबुकमा नक्कली आइडी बनाएर ‘कसैले बदनाम गर्न खोजेको’ भन्दै थापाले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न ब्यूराेमा उजुरी दिएका हुन् ।
सूर्य थापा नामको आइडीबाट माओवादी कार्यकर्ता विष्णु बूढाथोकीलाई धम्की दिइएको च्याटको स्क्रीनसट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
धेरैले उक्त ‘कन्भरसेसन’लाई लिएर थापाको आलोचना गरिरहेका छन् । ‘मेरो नक्कली आइडी बनाएर कसैले बदनाम गर्ने प्रयास गरिरहेको छ । मैले सीआइलाई खबर गरेको छु’, थापाले भने । खासगरी पूर्वमाओवादीका नेता, कार्यकर्तासँग सूर्य थापाको रस्साकस्सी पर्ने गरेको छ ।