काठमाडौं, १३ वैशाख-सरकारले आज कोरोना नियन्त्रणका लागि लकडाउनकाे म्याद थप्ने/नथप्नेबारे निर्णय गर्ने भएको छ ।तेस्रो पटक लम्ब्याइएको लकडाउन सोमबार (१५ वैशाख) सकिने भएकाले सरकारले आज लकडाउन थप्नेनथप्नेबारे निर्णय गर्ने भएको हो ।
लकडाउनलाई कसरी अगाडि लैजाने भन्ने बारेमा आज कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बैठक बस्न लागेको हो ।
शनिबार बिहानसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । जसमध्ये १० जना उपचारपछि निको भइसकेका छन् । बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन् ।