राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव प्रहरीले मंगलबार पक्राउ गरेको छ । ५ जना वडाअध्यक्षसहित १० जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
३ जना वडा अध्यक्षलाइ सोमबार र २ जना वडा अध्यक्षलाई भने आइतबार प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
प्रहरीले सोमबार वडा नम्बर ११ का वडा अध्यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का वडाध्यक्ष राजन पटेल र वडा नम्बर २६ का वडाध्यक्ष महेश साहलाई नियन्त्रणमा लिएको थियो । यस्तै, आइतबार प्रहरीले वडा नम्बर १ का वडा अध्यक्ष हरिओम साह र वडा नम्बर ७ का वडा अध्यक्ष सर्फुल्लाह अन्सारीलाइ नियन्त्रणमा लिएको थियो ।
मंगलबार नगर प्रमुख यादवलाइ कलैया बजारबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए । मंगलबार नै यादव आइस एन्ड कोल्ड स्टोरका कर्मचारी बच्चु यादवलाइ पनि नियन्त्रणमा लिइएको मिश्रले बताए ।