प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबजाउन आग्रह गरेका छन् । सोमबार मन्त्रिपरिषदको बैठकले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यायदेश पारित गर्ने निर्णय गरेपछि प्रवक्ता शर्माको यस्तो टिप्पणी आएको हो ।
केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पार्टी फुटाउन सक्ने गरी अघि सारिएको अध्यायदेश सोमबार मन्त्रिपरिषद् बैठकले पारित गर्ने निर्णय गरेको हो । यसबारे जानकारी दिन अहिले नेकपाले आकस्मिक सचिवालय बैठकसमेत डाकेको छ ।
मन्त्रिपरिषदको निर्णयलाई लिएर तत्कालीन माओवादी समूह रुष्ट रहेका बेला कांग्रेस प्रवक्ता शर्माले सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित गर्नु पर्ने बताएका हुन् ।
उनले संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने तर्फ रहेको स्मरण गराउँदै देशका लागि पनि यतिबेला अन्य सबै विषय गौण हुने बताएका हुन् ।