विराटनगर, ८ बैशाख-लकडाउनको हालसम्मको अवधिमा मोरङमा ७ सय ३६ मानिस र २ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्दै अटेर गरी सडकमा निस्कने व्यक्ति र सवारीसाधन कारबाहीमा परेका हुन् ।
कोराना महामारीबाट जोगिन जारी गरिएको लकडाउन पालना गराउन प्रहरी प्रशासन लागि परेको छ भने सर्वसाधारणले त्यसलाई उल्लंघन गर्ने प्रवृति समेत देखिएको छ ।
लकडाउन व्यक्ति स्वयं र समुदायकालागि भएपनि अटेर गर्ने प्रवृति देखिएको छ । अटेरगरी सडकमा निस्कने व्यक्तिहरुका कारण जोखिम बढदै गएपछि त्यसलाई निरुत्साहित गर्न प्रहरीले कडा कदम चाल्दै आएको छ ।
बिनाकारण सडकमा निस्कने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिने वा सडकमा घन्टौ उभ्याउने गरेको छ । यसैगरी अत्यावश्यकीय काम बिना प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । लकडाउन परिपालना गराउन प्रहरीले स्थानीयस्तरका युवाहरुलाई समेत स्वयंसेवककोरुपमा परिचालन गरिरहेको छ ।
लकडाउन जारी भएको चैत ११ यता ८ गते सोमबारसम्म प्रहरीले मोरङका विभिन्न स्थानबाट ७ सय ३६ जना मानिसलाई नियन्त्रणमा लिएको छ भने २ हजार ३ सय २० वटा सवारीसाधनलाई समेत कारवाही गरेको छ ।
यसरी कारवाहीमा परेका सवारीसाधनमा सबभन्दा बढी मोटरसाईकल र स्कुटीको संख्या छ । सो अवधिमा १ हजार ६ सय ९४ वटा मोटरसाईकल र स्कुटीलाई कारबाही गरिएको छ भने साइकल ४ सय ९९, टिपर र ट्रयाक्टर ५३ तथा ४५ वटा अटो तथा टेम्पोलाई प्रहरीले कारबाही गरेको छ । प्रहरीले नियन्त्रणमा लिएका २ हजार १ सय ८५ वटा सवारीसाधन छाडेको छ भने १ सय ३५ वटा सवारीसाधन अझैपनि प्रहरीकै नियन्त्रणमा छन् ।
यसैगरी सोहि अवधिमा नियन्त्रणमा लिइएका ६ सय ४३ पुरुष र ९३ जना महिलालाई समेत छाडिसकिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानमहादुर राईले जानकारी दिए । जानीजानी बुझ पचाउनेहरुले लकडाउनलाई रमिताको रुपमा लिइरहेकाले उल्लंघनका घटनाहरु भइरहेको सरोकारवालाहरुले बताएका छन् ।