राष्ट्रिय परीक्षा बाेर्डले परीक्षार्थीलाई सहज हुने गरी केन्द्रहरू थपेर एसईईसहित कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने विकल्पमाथि छलफल गरिरहेकाे छ ।
यही बीचमा परीक्षा नियन्त्रण कार्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूसँग केही विवरण माग गरेको छ । बुधबार जिल्लाका इकाइहरूलाई परिपत्र गर्दै कार्यालयले ‘विद्यार्थीहरूले परीक्षा दिनकै लागि कोठा भाडामा बस्नु नपर्ने गरी घरबाटै केन्द्रसम्म आउजाउ गर्ने व्यवस्था मिलाउँदा थप गर्नुपर्ने केन्द्रको संख्याबारे विवरण मागेको हो ।
तर, यो परीक्षा सञ्चालन गरिहाल्ने गरी चालिएको कदम भने होइन । कार्यालयले विवरण प्राप्त भएपछि परीक्षा सञ्चालनका लागि थप छलफल गर्ने बताएको छ ।
केन्द्र थप्दा आवश्यक पर्ने जनशक्ति र खर्चको आँकलन गर्नका लागि आन्तरिक रूपमा परिपत्र गरिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० कामु नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । परिपत्रमा इकाइहरूलाई तीन दिनभित्र विवरण पेस गर्न भनिएको छ ।
परीक्षा कसरी सञ्चालन गर्ने भन्ने बारेमा भने राष्ट्रिय परीक्षा बाेर्ड एउटै निचोडमा पुगेको छैन । राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले परीक्षा सञ्चालनका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन कक्षा १०, ११ र १२ को परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।