जनकपुरधाम, ३ वैशाख-स्थानीय समाजसेवीले दैनिक राहत बाँडे पनि प्रदेश सरकारले घोषणा गरेको सरकारी राहत जनकपुरधामवासीले भने अझैसम्म पाउन सकेका छैनन् । लकडाउनका कारण बेरोजगार बनेका मजदुर तथा विपन्न परिवारलाई लक्षित अहिले समस्यामा रहेका छन् । तर, जनकपुरधाम नगरपालिका अहिलेसम्म गम्भीरता देखाउन सकेको छैन ।
लकडाउनबाट सर्वाधिक प्रभावित दैनिक मजदुरी गरेर जीवन बिताउने परिवारलाई लक्षित गरी प्रदेश २ सरकारले राहत घोषणा गरेको झन्डै २ साता भयो । राहत कार्यक्रम सञ्चालन गर्न कार्यविधिसहित प्रदेश सरकारले प्रदेशभित्रका महानगरपालिकालाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख तथा गाउँपालिकाको हकमा १० लाख रकम विनियोजनन गरेको थियो ।
संघीय सरकारले तोकेको मापदण्डअनुसार प्रतिपरिवार ३० किलो चामल तथा यसै अनुपातमा दाल, आलु, नूनलगायतका खाद्यान्न वितरण गर्नुपर्ने निर्देशन दिइएको थियो । वडाध्यक्षले लगत पठाउन नसक्दा प्राप्त लगतकै आधारमा राहत वितरण गर्ने तयारी भइरहेको उपमेयर रीता कुमारी मिश्रले जानकारी दिइन् ।
‘लकडाउन भएको ३ साता भयो । उपमहानगरपालिकाले राहतको नाममा एक सुको बजेट उपलब्ध गराएको छैन । प्रदेश सरकारको सहयोगमा दिने भनिएको राहत वितरणका लागि तथ्यांक संकलन भइरहेको छ,’ वडा १ का अध्यक्ष शत्रुघ्न साहले भने ।