एजेन्सी, बैशाख १-टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन् । टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो । लकडाउन घोषणा गरेपछि त्यहाँ मानिसहरु समस्यामा परेका थिए ।
सरकारले शुक्रबारराति ४८ घन्टाको लकडाउन घोषणा गरेको थियो । शुक्रबार आधा रातबाट मानिसहरुलाई घरबाहिर ननिस्कन भनिएको थियो । तर लकडाउन घोषणापछि टर्कीका जनताहरु पसलमा सामान र खाद्यान्न किन्न बाहिर निस्कन सुरु गरेका थिए ।
मानिसहरु बाहिर निस्कन थालेपछि भीडभाड र भागदौडको अवस्था सिर्जना भएको थियो । प्रशासनले मानिसहरुलाई खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्री खरिदमा कुनै रोक नरहेको भन्दै आश्वस्त पार्न खोजेपछि मानिसहरुको भीड सम्हाल्न कठिन भएको थियो ।
अचानक लकडाउन गरिएपछि आम जनता र विपक्षी नेताले समेत आलोचना गरेका थिए । इस्तानबुलमा मात्रै १ करोड ६ लाख मानिस बसोबास गर्छन् । इस्तानबुलका मेयरले ट्विटमा भिडियो पोस्ट गर्दै लकडाउनका बारेमा आफूलाई पहिले सूचना नदिइएको बताए ।
लकडाउनका कारण असामान्य अवस्था बनेपछि गृहमन्त्री सुलेमानले आफूले यसको पूर्ण जिम्मेवारी लिने भन्दै ट्विटरबाटै राजीनामा घोषणा गरेका हुन् । सुलेमानले ट्विटरमा लेखेका छन्, ‘मैले जनताको सुरक्षाका लागि निर्णय लिएको थिएँ । यो संक्रमण रोक्नका लागि थियो ।’
टर्कीमा कुनै मन्त्रीले यसरी राजीनामा दिने घटना निकै कम मात्रै हुने गर्छन् । पछिल्लो पटक सन् २०१३ मा एक मन्त्रीले पदबाट राजीनामा दिएका थिए ।
टर्कीमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको छ । सोमबारसम्म टर्कीमा कोरोना भाइरस ५६ हजार ९ सय ५६ जनामा संक्रमण भइसकेको छ । गृहमन्त्रीले दिएको राजीनामा राष्ट्रपति एर्दोआनले स्वीकार गरिसकेका छैनन् । एर्दोआनले सुलेमान गृहमन्त्रीमा रहिरहने बताएका छन् ।