सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जनाएको छ ।कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरुलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टिन स्थलको अनुगमनपश्चात् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८ जनालाई एकैपटक राख्न सकिने अवस्था रहेको जानकारी दिएका हुन् ।
मन्त्री मानन्धरले उपत्यकामा क्वारेन्टिन व्यवस्थापनलाई चुस्त बनाउनका लागि अनुगमन गरिएको बताए । साथै सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहहरुमा रहेका होटल, रिसोर्ट र होमस्टेसमेतलाई क्वारेन्टिन बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ ।
यसो गर्न सकिए दशौं हजार बेड आवश्यक परेपनि तत्काल निर्माण गर्न सकिन्छ । मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा रहेका ठुला होटलहरुमा सबै सुविधा उपलब्ध हुने भएकाले अब सरकारको ध्यान त्यसतर्फ गएको बताए ।