काठमाडौं, २९ चैत-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा काठमाडौंका ३ पसललाई कारवाही गरेको छ ।विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत १ मासु पसल र २ किराना पसललाई जरिमाना गरिएको हो ।
विभागका अनुगमन निरीक्षक दीपक पोखरेलका अनुसार बजार अनुगमनका क्रममा बढी मूल्यमा मासु बिक्री गरेको भेटिएपछि नयाँ बानेश्वरस्थित आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिमाना तिराइएको छ ।
त्यस्तै बाफलस्थित न्यू बिके स्टोरलाई अनुचित व्यापारिक क्रियाकलाप गरेकामा (राहत वितरणमा म्याद गुज्रिएका सामान बिक्री गरेको) ३ लाख जरिमाना र सीतापाइलास्थित चितवन खाद्य सप्लायर्सले मूल्य बढी लिएको भेटिएपछि २ लाख जरिमाना गरिएको हो ।
ती पसलको कारवाहीबाट रु सात लाख राजश्व संकलन भएको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको उनले जानकारी दिए ।
यसअघि विभागले बुधबार बजार अनुगमनका क्रममा बढी मूल्य लिएवापत बत्तीसपुतलीमा सञ्चालित मुस्कान मासु पसललाई रु दुई लाख जरिवाना लगाएको थियो । रासस