प्रदेश नं २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज ४० लाख ७५ हजार प्रदान गरेको छ ।
नेपाली काँग्रेसका प्रदेश नं २ स्थित ८ वटै जिल्ला कार्यसमितिकोतर्फबाट नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणका क्रममा नेपाली काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादव, नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवसहितको उपस्थिति रहेको थियो ।
त्यस्तै सो उपचार कोषमा आज लक्ष्मी बैंकले १० लाख र सिभिल बैंकले ५ लाख रुपैयाँ प्रदान गरेको छ । ती दुवै बैंकका प्रतिनिधिले छुट्टाछुट्टै कार्यक्रममा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कोषमा अहिलेसम्ममा १ करोड ६ लाख ७५ हजार रुपैयाँ जम्मा भइसकेको छ र सोबाहेक भाटभटेनी सुपर मार्केटले सो कोषमा २५ लाख रुपैयाँ दिने घोषणा गरेको मुख्यमन्त्री राउतको प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए । रासस