कोेरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर फर्काउन थालेको छ ।कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन घर फर्काउने गरेको हो ।
सो समितिले आज बिहान लमजुङको विचौरबाट पैदल हिँड्दै कृष्णबहादुर नेपालीको घर आएका उनका नातिलाई घर बाहिरै ससम्मान खाना खुवाएर फर्काइएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिए ।
समितिले गाउँमा आएका पाहुनालाई की १४ दिन क्वारेन्टाइनमा राख्ने वा बस्न नचाहे खाना खुवाएर स–सम्मान फिर्ता पठाउने गरेको वडाध्यक्ष ढकालले जानकारी दिए ।
गाउँपालिकाले पालिकाभित्र कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सचेतता अपनाउन भन्दै १ सय ४२ वटा टोल प्रतिकार्य समिति गठन गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
साथै प्रतिकार्य समितिले गाउँपालिकाका सबै टोलमा पुगेर कोरोनाविरुद्धको सचेतना प्रदान गर्ने काम पनि समितिले गर्दै आएको उनले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाभित्र प्रवेश गर्ने र बाहिर निस्कने सबैको लागत प्रतिकार्य समूहलेसमेत राख्ने गरेको छ । त्यस्तै पालिकाभित्र सञ्चालित एम्बुलेन्स चालकको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको उनले बताए । रासस