१७ वटा अनलाईन बन्द गर्न शिफारिस गर्ने प्रेस काउन्सिलको निर्णयप्रति अनलाईन पत्रकार संघले आपत्ति जनाएको छ । उसले काउन्सिलको यो कामलाई गैरसंवैधानिक र स्वेच्छाचारी भन्दै आपत्ति पनि जनाएको छ ।
कोरोना संक्रमणका बिषयमा भ्रमपूर्ण समाचार संप्रेषण गरेको भन्दै काउन्सिलले विभिन्न १७ वटा अनलाईन बन्द गर्न दुरसंचार पधिकरणलाई सिफारिस गरेपछि संघले यस्तो आपत्ति जनाएको हो ।
‘प्रेस काउन्सिलले निर्णय गरेर अनलाइन संचार माध्यम बन्द गर्नु गराउनु आफैमा असंवैधानिक कार्य हो । कुनै संचारमाध्यमले प्रकाशन/प्रशारण गरेको सामग्रीले पत्रकार आचार संहिता उल्लघन भएमा सो अनुसार कारबाही गर्ने गराउने तथा विद्यमान प्रचलित अन्य कुनै पनि कानुनको वर्खिलाप हुने सामग्री प्रकासनरप्रशारण गरेमा सोही कानुनको व्यवस्था अनुसार कसुरदार ठहर गरी कानुनी कारबाही गर्न सकिने व्यवस्था हुँदाहुदै प्रेस काउन्सिलले प्रशासनिक र न्यायिक निकायको जस्तो व्यवहार गरी संचार माध्यम बन्द गर्न गराउन अग्रसर हुनु नेपालको प्रेस स्वतन्त्रता आन्दोलनकै लागि गम्भीर धक्का हो भन्ने अनलाइन पत्रकार संघको धारणा छ,’ बिज्ञप्तिमा भनिएको छ ।
संघले काउन्सिलको यो निर्णयलाई ‘सम्भावित संक्रमण रोक्न सरकारले विशेष निर्णय गरेको मौका छोपेर पत्रकारितामाथि गरिएको प्रहर’ भनेको छ ।