आज देश लकडाउन भएको पाँचौ दिन । सडक सुनसान छ । नागरिक आफ्नो घर कोठामा छन् । सडकमा अत्यावश्यकबाहेकका सवारी साधन गुडेका छैनन् । आवश्यकता, पीडा र आभावका बीच जनताले सरकारलाई सहयोग गरेका छन् ।
यता तरकारी उत्पादक किसान, बिक्रेता र ग्राहकबीच सम्बन्ध टुटेको छ । किसानको तरकारीजन्य उत्पादन धेरै त खेतबारी टनेलमा छन् । बजार आएको पनि पसलमा नै थन्किएको छ । अर्कोतर्फ ग्राहक उपभोक्ताले तरकारी फलफूल पाएका छैनन, पाए पनि महँगो मूल्यमा खरिद गर्नु परेको छ ।
काठमाडौं उपत्यकाको तरकारीको थोक बिक्री केन्द्र रहेको कालिमाटी बजारमा भने तरकारी कुहिन थालेको छ । बिहान २ बजे देखि ६ बजेसम्म खरिद बिक्री गर्न निश्चित समय तोकिएपछि काठमाडौं आएको तरकारी राम्रो सँग बिक्रि भएको छैन । लामो सँग बिक्रि नभएको हरियो तरकारी कुहिएर फाल्नुपरेपछि काठमाडौं महानगरले कीटनाशक औषधि छर्कनु परेको छ ।
स्थानीय किसानको तरकारी बजार आउन नपाएको तर भारतबाट आउने तरकारी निर्वाध बजार सम्म आएको स्थानीय बिक्रेताले गुनासो पनि गरेका छन् । यस्तै, बल्खु तरकारी बजारमा भने केहि चहलपहल देखिएको छ तर गुनासो भने उस्तै छ तरकारी बिक्रि भएको छैन ।
तरकारी कुहिएर जान थालेपछि मूल्य भने बढेको छ । कुहिएर बाँकी रहेको तरकारी बाट परलमोल उठाउन बिक्रेताले मूल्य बढाएको ग्राहकले गुनासो गरेका छन् । सरकारले तरकारी बजारमा भएको तरकारी उपभोक्ता सम्म पुर्याउन छुट्टै संयन्त्र बनाउनु पर्ने देखिन्छ ।