महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहतस्वरुप ३ महिनाका लागि मासिक १० हजार रुपैयाँ दिने तयारी गरेको छ ।
विश्वभरि नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका करिब १ हजार ५ सय ज्येष्ठ नागरिकलाई उक्त राहत दिने तयारी गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कुरा गर्दै भने, ‘ज्येष्ठ नागरिकको रोगसँग लड्न प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ, उनीहरूलाई राम्रो खानपानका लागि राहतस्वरुप मासिक १० हजार दिने तयारी गरेको हो ।’ मन्त्रालयको उक्त प्रस्तावलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पास गरेपछि काम अघि बढ्ने छ ।
मन्त्रालयले उक्त भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि पशुपति वृद्धा आश्रम, खगेन्द्र नवजीवन केन्द्र, मङ्गला सहाना पुनःस्थापना केन्द्रलगायत ठाउँमा र अपाङ्गता भएका व्यक्ति र अनाथलयमा स्यानिटाइजर, मास्क, साबुनलगायत सुरक्षासँग सम्बन्धित सामग्री वितरण आवश्यक व्यवस्था मिलाएको छ ।
‘रोगसँग लड्ने क्षमता ज्येष्ठ नागरिकमा कम हुन्छ, अपाङ्गता भएका व्यक्ति, सुत्केरीलाई विशेष व्यवस्था गर्न विशेष मन्त्रालयले आह्वान गरेको छ’ मन्त्री गुरुङले भने, ‘संवेदनशील व्यक्तिलाई घरमा पनि छुट्टै कोठामा राख्न आग्रह गर्छु, बाहिरबाट गएका व्यक्तिको सम्पर्कमा नआउन र सरसफाइ ध्यान दिन आग्रह गर्छु ।’
मन्त्रालयका उपसचित भरतराज शर्माका अनुसार देशभरिको वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई ३ महिनाको राहत उपलब्ध गराउने तयारी भएको र सोही अनुपातमा अपाङ्गता भएका, बालगृहमा बसेका बालबालिका र मानव बेचबिखनमा परेकालाई राहत उपलब्ध गराउन तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । मन्त्रालयले महिला तथा बालबालिका विभागमार्फत कोरोना हेल्थ डेस्क सञ्चालन गरिहेको छ भने मन्त्रालयको मोबाइल टोलीले काठमाडौं, भक्तपुर र ललितपुरमा सेवा दिइरहेको छ । रासस