विराटनगर । विराटनगर महानगरपालिका – ६ रामपुरमा झारफुकको बहानामा १५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय महमद साबिर रहेका छन्।
सिरहा घर भएकी उक्त बालिका तीन वर्षदेखि विराटनगरमा दिदीसँग भाडाको घरमा बस्दै आएकी थिइन्। केही महिनादेखि उनमा डराउने, आत्तिने र बेहोस हुने जस्ता लक्षणहरू देखिएका थिए।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार यी लक्षणहरू देखेर महमद साबिरले झारफुक गरेर निको बनाइदिने भनेका थिए। उनले बालिकालाई फरक फरक दिन केही पटक झारफुक गरेका थिए। समस्या नहटे पनि आफूले झारफुक नगरिदिएको भए ज्यानै जान सक्थ्यो भनेर डराएका थिए।
राम्रोसँग उपचार गरेर पूरै निको बनाउनका लागि ७० हजार रुपैयाँ चाहिने भनेर उनले बताएका थिए। दिदीले सो रकम पनि दिएकी थिइन्। त्यसपछि गत चैत १७ गते राति उनले बालिकालाई आफ्नो घरमा बोलाएका थिए।
झारफुक र उपचारको बहानामा उनले त्यहीँ बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ। घटनापछि कसैलाई नभन्नु भन्दै उनले बालिकालाई धम्क्याएका थिए। त्यसपछि उनी गाउँबाट भागेका थिए।
जेठ १३ गते बालिकाका तर्फबाट जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिइएको थियो। प्रहरीले खोजीका क्रममा साबिरलाई विराटनगर–६ स्थित उनकै घरबाट पक्राउ गरेको हो।
उनीमाथि बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा बुधबार मुद्दा दर्ता गराई ७ दिनको म्याद थपिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी जोशीले जानकारी दिए।