विराटनगर । प्रमुख राजनीतिक दलका नेताहरूले लोकतन्त्रको महत्वपूर्ण उपलब्धिहरूलाई स्वीकार गर्दै नेतृत्वको आचरण सुधारको आवश्यकतामा जोड दिएका छन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विराटनगरमा भएको संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा मुख्य वक्ताका रूपमा सहभागी नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रपछि नेपालमा उल्लेखनीय विकास र प्रगति भएको स्पष्ट पारे । उनले विकासका ठोस तथ्यांक प्रस्तुत गर्दै भने, ‘हामीले काम गरेका छौं । राजस्व ४८ सालको भन्दा ११७ गुणा वृद्धि भएको छ । खाद्यान्नको उत्पादन पनि उत्तिकै वृद्धि छ, व्यक्तिगत आय पनि बढेको छ तर असन्तुष्टि चुलिएको छ ।’
नेता ज्ञवालीले जनताको असन्तुष्टिको मूल कारण नेतृत्वको आचरणमा रहेको निष्कर्ष निकाले । उनले थपे, ‘यसको मूल कारण हाम्रो आचरण हो । हामीले संविधान संशोधन गरेर मात्र नहुने भन्दै नेतृत्वमा रहेका पात्र, प्रवृत्ति र आचरणमा नै समस्या छ यसलाई सुधार गरेर जाउँ । निराशा हटेर जान्छ ।’
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालले गरेको उल्लेखनीय प्रगतिलाई आम जनतामा बुझाउनुपर्ने आवश्यकतामा जोड दिए । उनले राजनीतिक दलहरूको कार्यशैली र ढाँचामा उठेका प्रश्नहरूलाई निरूपण गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले राजतन्त्रको सम्भावनालाई पूर्णतः खारेज गर्दै भने, ‘राजनीतिक धरातल दार्शनिक धरातल कुनै पनि धरातलले नेपालमा राजतन्त्र स्थापना हुँदैन यसमा कोही लाग्नुको औचित्य छैन यसको बहस पनि निरर्थक छ ।’
उनले अहिलेका मूल राजनीतिक दलहरूले आफ्ना कमजोरीहरू जनता समक्ष राख्दै जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले मानव विकासका सूचकांकहरूमार्फत नेपालको प्रगतिलाई प्रस्तुत गरे । उनले २०४८ सालमा नेपालीको औसत आयु ५४ वर्ष रहेको र अहिले ७२ वर्ष पुगेको उदाहरण दिँदै यस्ता विकासलाई नजरअन्दाज गरिरहेको बताए । नेता रिजालले भने, ‘सबै विकासलाई हेर्ने हो भने विश्वका अरु धेरै मुलुकभन्दा हामीले मानवीय विकासमा छिटो प्रगति गरेका छौं ।’ उनले २०४८ साल यताका मानवीय विकासमा साक्षरता, सडक निर्माण, प्रतिव्यक्ति आयु, सुत्केरी महिलाको मृत्युदरमा गरिएका प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।
उनले दलहरूबीच सहमति र निराशालाई चिर्ने खालको काम गरेर जानुपर्ने आवश्यकतामा जोड दिए ।
नेकपा माओवादीका नेता हरिबोल गजुरेलले नैतिकता र इमान्दारिताको खाँचो रहेको स्पष्ट पारे । उनले भने, ‘हामीतिर फर्किदा जनताले चित्त बुझाएका छन् । अर्कालाई मात्रै दोष दिएर भएन । पानी धमालिएको हामीले गर्दा हो ।’
नेता गजुरेलले वर्तमान सरकारमा भ्रष्टचारको स्थितिको कडा आलोचना गर्दै भने, ‘अहिले दुई तिहाइको सरकार भ्रष्टचारमा लिप्त भएको छ । खुलेआम सिंहदरवारमा साइन बोर्ड टासिएको छ । म भ्रष्टचार गर्न पनि दिन्न गर्दा पनि गर्दिन भन्ने गरिन्छ । तर, भ्रष्टचार भने खुलेआम भइरहेको छ ।’
उनले काठमाण्डौका मतदाताले धारणा परिवर्तन गरेको र राजनीतिक दलहरू गम्भीर हुन जरुरी रहेको बताए । ‘दलहरु सचिएर अगाडी बढे यो राजबादीको आन्दोलन तुहिएर अगाडी बढ्ने,’ उनले भने ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गणतन्त्रमाथि प्रहार भएकाले त्यसका विविध पक्षमा आम नागरिकमा प्रकाश पार्नको लागि यो कार्यक्रम गरिएको बताए ।