विराटनगर । विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले शनिबार एक विशेष कार्यक्रमको आयोजना गर्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत र स्नातक विद्यार्थीलाई बिदाई गरेको छ ।
२०६६ सालमा स्थापना भएको यस कलेजमा हाल १ हजार ३६५ जना विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा कलेजले यस वर्ष बिबिएस र बिएड प्रथम वर्षमा भर्ना भएका ४४२ जना विद्यार्थीलाई स्वागत गरेको हो । सोही अवसरमा बिबिएस र बिएड स्नातक तह सकाएका १६० जना विद्यार्थीलाई बिदाई गरिएको थियो ।
क्याम्पस प्रमुख डिके शाह (दिपेन्द्र साह) ले कार्यक्रममा बोल्दै विद्यार्थीलाई संस्कार र सिपसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै कलेज अगाडि बढिरहेको बताए । उनले दक्ष, जिम्मेवार र व्यवहारिक ज्ञान भएको मानवशक्ति उत्पादन गर्नु कलेजको प्रमुख उद्देश्य रहेको उल्लेख गरे ।
कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद योगेन्द्र मण्डलले विद्यार्थीलाई प्राविधिक र व्यवहारिक शिक्षा अनिवार्य रहेको बताए । शिक्षा मात्रै होइन, प्राविधिक सीप पनि आजको युगमा अत्यावश्यक रहेको उनले जोड दिए ।
त्यस्तै, कलेजका सञ्चालक भुवन नेपालले राष्ट्र निर्माणको आधारशिला सक्षम जनशक्ति भएको उल्लेख गर्दै इडेनबर्ग कलेज दक्ष र योग्य जनशक्ति उत्पादनमा केन्द्रित रहेको जानकारी दिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा प्रस्तुतिबाट कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । विद्यार्थीहरूको सहभागिता, उत्साह र प्रस्तुतीले सम्पूर्ण माहोल उल्लासमय बनेको थियो । इडेनबर्ग कलेजले शैक्षिक उत्कृष्टता र समाजोपयोगी कार्यक्रममार्फत विद्यार्थीको समग्र विकासमा योगदान दिइरहेको छ ।