विराटनगर । कोशी प्रदेशमा असार ३ गतेबाट खेलकुदका प्रतियोगिताहरु सुरु हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न १२ खेलका प्रतियोगिताहरु असार ३ गतेदेखि सञ्चालन गर्न लागेको हो ।
तेह्रथुममा एक भव्य कार्यक्रम आयोजना गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रतियोगिताको उद्घाटन गर्नेछन् । तेह्रथुममा फुटबल प्रतियोगिताबाट खेलकुदको कार्यक्रम सुरु हुने प्रदेश खेलकुद विकास बोर्डका सदस्य थालु राजभण्डारीले जानकारी दिइन् । ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ,’ उनले भनिन् ।
खेलकुद विकास बोर्डले यसअघि पत्रकार सम्मेलन गरेर प्रतियोगिताको कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानको टुंगो लागिसकेको जानकारी दिएको थियो ।
चालु आर्थिक वर्ष २०८०÷०८१ मा प्रदेश खेलकुद विकास बोर्डमार्फत कार्यान्वयन हुने खेलकुद सम्बन्धी कार्यक्रममध्ये अधिकांशको कार्यतालिका र सञ्चालन मिति निर्धारण भइसकेको बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिए । प्रदेशका १४ वटै जिल्लालाई समेटेर प्रतियोगिताहरु आयोजना गरिने जानकारी उनले बताए । उनका अनुसार प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता असार ३ देखि ७ गतेसम्म तेह्रथुममा सञ्चालन गरिने छ । कबड्डी प्रतियोगिता असार ७ देखि १० गतेसम्म मोरङमा, महिला फुटबल असार ८ देखि १३ गतेसम्म खोटाङमा, शरीरिक सुगठन असार १० देखि १२ गतेसम्म झापामा र भारोत्तोलन असार १३ देखि १५ गतेसम्म विराटनगरमा गर्ने तय भएको जानकारी सदस्यसचिव बस्नेतले दिए ।
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता मोरङमा, प्रदेशस्तरीय पौडी प्रतियोगिता सुनसरी र मोरङमा, महिला ‘सेल्फ डिफेन्स’ आत्मरक्षा तथा योगा प्रशिक्षण झापा, मोरङ र सुनसरीका तीनवटा विद्यालयमा तथा प्रदेशस्तरीय कुरास प्रतियोगिता आयोजना गर्ने तय भएको छ । यी प्रतियोगिता सञ्चालन गर्ने मिति छिटै टुंग्याइने बस्नेतले जानकारी दिए । उनका अनुसार फरक क्षमता ९अपांगता० भएकाहरुले खेल्ने पारा खेलकुदमध्ये क्रिकेट र पौडी प्रतियोगिता विराटनगरमा तथा बास्केटबल धरानमा गरिने छ ।
‘कोशी प्रदेशमा खेलकुदका प्रतियोगितहरु केही समयदेखि रोकिएका थिए । ती सबै प्रतियोगिता असार दोस्रो साताभित्रमा सक्ने गरी तयारी थालिएको छ,’ उनले भने, ‘समयमै सम्पन्न गर्न नसकेका कारण अब ‘फास्ट ट्रयाक’बाट आयोजना गर्नुपर्ने अवस्था आएको छ । हतारहतार नगरे खेलकुदका लागि छुट्याइएको बजेट ‘फ्रिज’ भएर जान्छ ।’
कोशीको खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजाने योजना अनुरूप आगामी नीति तथा कार्यक्रममा महत्वकांक्षी योजनाहरु समेटिएको सदस्यसचिव बस्नेतले बताए ।