‘विद्यालयमा नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

 न्यूज विराट
‘विद्यालयमा नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

जितेन्द्रनारायण ठाकुर

विराटनगर । विद्यालय औपचारिक शिक्षा हासिल गर्ने स्थान मात्र नभएर जीवनका यावत् मूल्य मान्यता सिक्दै सामाजिकीकरणमा अभ्यस्त हुने स्थल पनि हो ।

किताबी ज्ञानका साथै व्यावहारिक जानकारी प्रदान गर्दै विद्यालयलाई बहुआयामीक ज्ञान केन्द्र बनाउनु पर्ने आवश्यकता पछिल्ला दशकमा अझ बढी टड्कारो भएको छ ।

मुलुक संघीयतामा गएपछि कोशी प्रदेश सरकारले विद्यालयलाई बहुआयामीक ज्ञान केन्द्र बनाउन विद्यालय नर्स कार्यक्रम संचालन गरेको छ । प्रदेश सरकारले प्रदेश भरी एक सय ६० वटा सामुदायिक विद्यालयमा सो कार्यक्रम संचालन गरेको हो । मोरङमा १९ वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम संचालनमा रहेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताका अनुसार विद्यालय नर्स कार्यक्रम संचालन भएका १९ वटा सामुदायिक विद्यालयमा करिव २० हजार विद्यार्थी प्रत्यक्ष लाभान्तित हुदै बताए ।

विद्यालयमा कार्यरत नर्सहरुमा प्रति नर्स तलब सहित अन्य सुविधामा ४० हजारको हराहरीमा प्रदेश सरकारको लगानी हुदै आएको छ । मोरङमा चालु आर्थिक वर्षमा करिव ७५ लाख प्रदेश सरकारको सो कार्यक्रममा लगानी हुदै आएको छ । औषधी सहित आवश्यक स्वास्थ्य सामग्री सहित विद्यालय नर्स कार्यक्रम संचालन गर्न प्रदेश सरकारले बार्षिक ८ करोड लगानी गर्दै आएको प्रमुख मेहताले बताए ।

विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालनले विद्यालयमा प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य सेवा दिने लक्ष्यका साथ विद्यालय नर्स तथा विद्यार्थी मार्फत परिवार एवम् समुदायलाई स्वस्थ बनाउन जनचेतना जगाउने तथा स्वस्थ जीवन शैली अपनाउन प्रोत्साहन गर्ने जस्ता उद्देश्य पुरा हुदै गएको अभिभावकको भनाई छ । विद्यालय–नर्स कार्यक्रमले दोहोरो उद्देश्य पूरा गर्ने गरेको छ । स्वास्थ्य शिक्षालाई व्यावहारिक ज्ञानका आधारमा नर्सले विद्यार्थीमार्फत विस्तार गर्दा विद्यार्थीका परिवार तथा समुदायलाई स्वस्थ रहन प्रेरणा र जानकारी प्रदान गर्दै आएको छ । कलिला विद्यार्थीलाई सामान्य स्वास्थ्य शिक्षाका साथै उमेर अनुसार उनीहरूमा आउने शारीरिक तथा मनोवैज्ञानिक परिवर्तनलाई सम्बोधन गर्न नर्सहरू सहयोगी बन्दै गएका छन।
मुलुक संघियतामा गए पछि कोशी प्रदेशले विद्यालय नसिङ्ग कार्यक्रम संचालन गरेको थियो । आर्थिक वर्ष २०७५ ÷७६मा एक जिल्लामा एउटा विद्यालय नसिङ्ग कार्यक्रम संचालन गर्ने नीति बनाएको थियो । तर, सो आर्थिक वर्ष १४ वटा विद्यालयमा संचालन गरिएको थियो । प्रदेश सरकारको विद्यालय नसिङ्ग कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि सरकारले विद्यालयको संख्या थप गर्दै आएको छ ।
स्वास्थ्य मन्त्रालयका नसिङ्ग अधिकृत आस्था थापाका अनुसार अझै पनि विद्यालयमा सो कार्यक्रम विस्तार हुदै आएको छ । कोशी प्रदेश भरी एक सय ६० वटा विद्यालयमा सो कार्यक्रम संचालनमा रहेको छ । थप १३ वटा विद्यालयमा कार्यक्रम आगामी आर्थिक वर्षमा विस्तार गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, उक्त कार्यक्रको निरन्तरतामा अन्यौलता उत्पन्न भएको छ । स्थानीय तहका विद्यालय रहेकाले स्थानीय तहले पनि विद्यालय नसिङ्ग कार्यक्रमलाई प्रभावकारी बनाउन बजेट वा नीति कार्यक्रम बनाउनु पर्ने आवश्यकता देखिन्छ । प्रभावकारी रुपमा संचालन हुदै आएको सो कार्यक्रम प्रदेश सरकार संगै स्थानीय तहको समान सहभागिताको आवश्यकता छ ।

– विद्यार्थीको असल साथी
नर्सलाई विद्यार्थीले स्वास्थ्य समस्या समाधानको केन्द्रबिन्दुको रुपमा लिएका छन्। विद्यालय नर्सले उमेर र अवस्था अनुसार स्वास्थ्य परामर्श दिने गरेकाले विद्यार्थीले आफ्नो मनको कुरा तथा कौतुहलता पूरा गर्ने व्यक्तिको रुपमा लिएका हुन्छन्। साना बालबालिकादेखि किशोरकिशोरी सम्मले आफ्न्नो पारिवारिक समस्या, स्वास्थ्य समस्या किशोरावस्थामा आउने परिवर्तन सम्बन्धी कौतुहलता र आफ्नो मनमा लागेका हरेक कुराहरु खुलेर भन्ने व्यक्तिका रुपमा विद्यालय नर्स स्थापित भएका छन्।

केही बालबालिकाको आमाबुबा नभएको, आमाबुबालाई उनीहरुको कुरा सुन्न समय नभएको, कतिको मिल्ने साथी नभएको, र स्वास्थ्य सम्बन्धी सही ज्ञान दिएर कौतुहलता व्यवस्थापन गर्ने व्यक्ति नभएको अवस्थामा विद्यालय नर्सले विद्यार्थीको असल साथीको भूमिका निभाएका छन्।नर्सका कारण विद्यार्थीको व्यवहार परिवर्तन र स्वस्थ जीवनशैली विकास गर्न सहयोग पुगेको छ। विद्यार्थीहले स्वास्थ्यको महत्व बुझेर जन्मदिनमा केक÷चकलेट बाँड्नुको साट्टो सरफाइको लागि आवश्यक सामग्री (हेन्डवास, डस्टबिन, हर्पिक र ब्रस) र सेनेटरी प्याड जस्ता सामग्री विद्यालयमा राख्न सुरु गरेका छन्।

–किशोरकिशोरीमा हुने शारीरिक समस्या समाधान गर्न

किशोरावस्था भनेको बालकबाट वयस्क हुने अवस्था हो । यो अवस्थामा विभिन्न शारीरिक (विशेष गरेर प्रजनन अंगहरुमा) परिवर्तन आउँछ। जुन कुरा किशोरकिशोरी परिवार, साथीभाइ र शिक्षकलाई भन्न गाह्रो मान्ने गर्छन्। त्यस्तो कुरा विद्यालय नर्सलाई भन्न सहज मान्छन्। उनीहरुले खुलेर भन्न नसकेका धेरै जिज्ञासा तथा कौतुहलता विद्यालय नर्सले स्वास्थ्य शिक्षा दिने बेला समेटिने हुनाले पनि उनीहरुलाई आफ्नो समस्याको समाधान नर्सले गर्छ भन्ने बिश्वास गर्छन र खुलेर कुरा राख्छन्। साथै किशोरलाई भन्दा किशोरीलाई बढी समस्या देखापर्ने हुनाले ती समस्या महिलालाई नै भन्न सजिलो हुने र नर्स आफैं पनि त्यो चरण पार गरेर आएको भएर सजिलै समस्यालाई सम्बोधन तथा समाधन गर्नसक्ने हुनाले विद्यालय नर्स आवश्यक देखिएको छ ।

–व्यक्तिगत र महिनावारी सरसफाइ
विद्यार्थीलाई व्यक्तिगत सरसफाइ जस्तै हात धुने, नङ काट्ने, दाँत माझ्ने, नुहाउने, यौनांगको सरसफाइको बारेमा महत्व बुझाएर व्यवहार परिवर्तन गर्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइ, प्याड बनाउने, लगाउने तरिका र फोहोर प्याड व्यवस्थापन गर्ने तरिकाबारे नर्ससँग खुलेर कुरा गर्न सक्छन्। कति विद्यालयमा नर्सको अगुवाइमा निशुल्क सेनेटरी प्याड वितरण भइरहेको छ। विराटनगर स्थित पोखरी माविमा कार्यरत नर्स प्रतिभा बजगाईले निरन्तर सेवा दिन थालेपछि विद्यार्थी हरेक समस्या लिएर आउने गरेको बताईन्।
उनले समान्य समस्या हुन साथ विद्यार्थी आएर समस्या बताउने गरेको बताइन ।

–मानसिक, सामाजिक र सम्बेगात्मक समस्या समाधान

प्रत्येक व्यक्ति जन्मिएदेखि नै जिम्मेवारी बहन गर्न खोज्छन । किशोरकिशोरीमा बढ्दो परिवर्तनका कारण अझ बढी जिम्मेवारी बहन गर्न खोज्छन तर , हाम्रो समाज त्यो जिम्मेवारी दिन चाहँदैन। अन्ततः किशोरकिशोरी एक्लै बस्न मनपराउने, परिवारका सदस्य भन्दा साथीसँग बढी समय बिताउने र आफ्ना भावना आदानप्रदान गर्न चाहने, मोबाइल, इन्टरनेटमा बढी व्यस्त हुने, आमा बुबाले कुरा गर्न खोज्दा झिजो मान्ने, झर्कीने, आफ्नो अस्तित्व÷परिचय स्थापित गर्न खोज्ने, आत्मनिर्भर हुन खोज्ने, जोखिमपूर्ण काम गर्न खोज्ने हुन्छन्। त्यस्तै किशोरावस्थामा कुलततिर लाग्ने, यौन इच्छा र चाहनामा वृद्धि हुने, सही र गलत छुट्याउन नसक्ने, खान मन नगर्ने, सामाजिक नियम विपरीत कार्य गर्न खोज्ने, प्रेम सम्बन्धमा पर्ने, पढाइ छोड्ने, यौनरोग र एचआईभी जस्ता रोग सर्ने जोखिम बढ्ने, अरुको देखासिकी गर्ने, डिप्रेसन र आत्महत्या जस्ता समस्या आउने हुनाले यस्ता समस्यालाई सही तरिकाले सम्बोधन गर्नसक्ने व्यक्ति पनि नर्स नै हो।
नर्सले आफूले सिकेको ज्ञान र भोगेका अनुभव समेटेर गोपनियताका साथ आवश्यक परामर्श, सल्लाह सुझाव दिन्छन्। कसैलाई पनि भन्न नसक्ने कुरा पनि सजिलै र खुलेर भन्न सकिने रहेछ भन्ने अनुभव कोशी प्रदेशले विद्यालय नर्स कार्यक्रम लागू गरेका विद्यालयका विद्यार्थीले गरेका छन्।

–यौन शिक्षा

किशोरावस्था सुरु भएसँगै विपरीत लिङ्गीसँग आकर्षण बढ्ने, प्रेम सम्बन्धमा पर्ने, यौन इच्छा बढ्ने, असुरक्षित यौनसम्पर्क गर्ने, गर्भवती हुने, असुरक्षित गर्भपतन गर्ने र प्रेममा धोका पाएँ भनेर आत्महत्याको प्रयास गर्ने जस्ता समस्या समेत देखिन्छन्। त्यस्ता सम्बेदनशील समस्यालाई पनि समाधान गर्न नर्सले महत्वपूर्ण भूमिका खेल्छन्।

–पोषण र गुणस्तरीय खाना

अहिले बालबालिका घरमा पाकएको खानाभन्दा जंगफुड मन पराउँछन्। आमा बुबा व्यस्त भएर, पैसा दिने बानी गरेर, देखासिकी गरेर, विद्यालय क्यान्टिनमा पनि सजिलै पाउने भएर, स्वास्थ्य समस्याको बारेमा नबुझेर पनि जंगफुडको प्रयोग बढी गर्ने गर्छन्। यस समस्यालाई समाधान गर्न विद्यार्थी, अभिभावक, शिक्षक, क्यान्टिन सञ्चालक सबैलाई राखेर पोषण र गुणस्तरीय खानाको बारेमा जानकारी दिएर विद्यालयमा जंगफुड निषेध गर्न र घरको खानालाई प्रोत्साहन गर्न विद्यालय नर्स सफल भएक छन्।

–नियमित स्वास्थ्य जाँच, परामर्श र प्राथमिक उपचार
विद्यालय नर्सले विद्यार्थी र शिक्षकको नियमित स्वास्थ्य जाँच गरी आवश्यक परामर्श र प्राथमिक उपचार सेवा दिन्छन्। सामान्य स्वास्थ्य समस्याको उपचार र सल्लाह विद्यालयमै सम्भव भएपछि विद्यार्थीको विद्यालयमा नियमित उपस्थिति हुने गरेको छ। सरकारी तथा सामुदायिक विद्यालयमा पढ्ने धेरैजसो विद्यार्थीको आर्थिक अवस्था पनि कमजोर हुने र उपचारबाट बन्चित हुने भएकोले विद्यालय नर्सले त्यस्ता बालबालिकालाई पनि समेटेको छ ।

–विद्यालय तथा वातावरण सरसफाई
कक्षा कोठा, शौचालय, विद्यालय वरिपरि र क्यान्टिनको नियमित सरसफाइ तथा फोहोर व्यवस्थापनमा पनि विद्यालय नर्सले महत्वपूर्ण भूमिका खेलेका छन्। विद्यार्थीलाई नै सहभागी गराएर वातावरण सरसफाइको महत्व बुझाउँदै विद्यालयको समग्र सरसफाइ निरन्तर गर्नुका साथै बगैंचा लगाउन पनि विद्यालय नर्स सफल भएका छन्। त्यसैगरी विद्यालय व्यवस्थापन समितिसँग समन्वय गरी फोहोर व्यवस्थापन गर्न डस्टबिन र शुद्ध खानेपानीको व्यवस्था पनि विद्यालय नर्सले गरेका छन्।

–लागुपदार्थ नियन्त्रण
विद्यार्थी परिवारिक, साथीभाइको संगत, देखासिकीका कारण धूमपान तथा लागुपदार्थ सेवनतिर लाग्न पुग्छन्। यस्तो कुलत नियन्त्रण गर्न विद्यालय नर्सको भूमिका महत्वपूर्ण हुन्छ। विद्यार्थीको मुख्य समस्या के हो, के कारणले उनीहरु कुलततिर लागेका हुन् भन्ने खोजी गरी परामर्श दिन आवश्यक पहल गर्ने काममा नर्स सफल भएका छन्। व्यवहार परिवर्तन एकदुई पटक परामर्श गरेर तुरुन्तै हुने होइन, त्यसैले यसको लागि नियमित परामर्श, अनुगमन र सुपरिवेक्षण चाहिने हुनाले विद्यालय नर्स प्रभावकारी रुपमा विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सफल भएका छन्।

–विद्यार्थीलाई विद्यालयमा नियमित आउने प्रोत्साहन
नर्स विद्यालयमा दैनिकरुपमा आफ्ना सेवा दिन थालेपछि विद्यार्थीको सख्यामा विद्यालयका कमी नहुने गरेको शिक्षकले बताएका छन् । समान्य समस्या भए विद्यालय छोडेर घर बस्ने संस्कारले नर्स आएपछि अन्त भएको शिक्षकले बताए । खास गरी किशोरीले महिनावारी सुरु भए अगावै हप्ता दिन विद्यालयमा अनुउस्थित हुने गरेकोमा अहिले एक दिन पनि अनुपस्थित नहनुे गरेको पोखरी माविका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए । उनले विद्यालयमा विहान र दिउसो दुई सिप्ट पढाई हुने गरेकाले थप नर्स राख्न अभिभावक र विद्यार्थीले आग्रह गर्ने गरेको बताए । अहिले १० बजे एक जना नर्सले प्रदेश सरकार मार्फत सेवा दिदै आएकाले विहान पनि नर्सको नियमित आवश्यकता भएको उनले बताए । विद्यार्थी नआउने परिपाटी अन्त भएको छ उनले भने ‘विद्यार्थी संगै शिक्षक र अभिभावकले समेत परामर्श लिन आउने गरेका छन् ।’ नर्सको परामर्श लिएर मात्रै अन्त उपचार वा थप सेवा लिन जाने गरेको अवस्थाको सिर्जना भएको छ ।

–सकारात्मक परिवर्तन
विद्यालय नर्स कार्यक्रमप्रति विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, विद्यार्थी, शिक्षक र अविभावकको सकारात्मक सोच
१ विद्यालय नर्सलाई आवश्यकता अनुसार तालिमको व्यवस्था
२ प्राथमिक उपचारको लागि आवश्यक औषधि, औजार र उपकरण उपलब्ध
३ विद्यालय नर्सले सेवा दिने÷परामर्श गर्ने कक्षको व्यवस्था
४ विद्यालय नर्स, रेफरल अस्पताल र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय र साझेदारी
५ सम्बन्धित निकायबाट नियमित अनुगमन र सुपरिवेक्षण
६ पर्याप्त जनचेतना मूलक सामग्रीको व्यवस्था
७ अविभावक, विद्यार्थी, शिक्षक र विद्यालय नर्सबीच आवधिक बैठक तथा छलफल
८ विद्यालय र विद्यार्थीको लागि प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न स्थानीय सरकारबाट पनि आवश्यक सहयोग र बजेट बिनियोजन गर्नु पर्ने

सम्बन्धित समाचार

मोरङ कारागारका फेरी अर्का एक बन्दीको मृत्यु

विराटनगर, १३ भदौ-मोरङ कारागारमा शनिबार एक बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुन्दरहरैँचा नगरपालिका–४ का २६ वर्षिय फुर्वासिंह तामाङ रहेका छन् । उनी गत फागुन महिनामा पुर्पक्षका लागि कारागारमा थुनामा रहेका थिए । स्वास्थ्यमा...

कोशीमा अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

विराटनगर, साउन २१–विराटनागरस्थित कोशी अस्पतालमा बुधबार मृत्यु भएका विराटनगर–९ का पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । मंगलबार राति श्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएका विराटनगर–९ गुद्रीका का ४५ वर्षीय पुरुषको बुधबार...

सुनसरी प्रहरीको डिएसपी नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा कटिहारको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा कटिहारले सिराहा क्रिकेट ८ विकेटले हराउँदै अन्तिम आठमा पुगेको छ । मंगलबार भएको दोस्रो खेलमा सिराहले १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर...

निको भएर घर फर्किइन नेपालकी दोस्रो कोरोना संक्रमित

काठमाडौं, ६ वैशाख-कोरोना भाइरस संक्रमण पुष्टि भएपछि टेकु अस्पताल भर्ना भएकी नेपालकी दोस्रो संक्रमित युवती डिस्चार्ज भएकी छन् ।फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि गत १० चैतमा टेकुस्थित शहिद...

प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री र उपकरण हस्तान्तरण

विराटनगर, ३ कात्तिक–युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण...

देशभर थपिए ८९९ संक्रमित, कुल संक्रमित ३९ हजार ४६०

काठमाडौं, १५ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

काठमाडौं, २५ भदौ-नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् ।  उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्