विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले व्यक्तिगत लाभ प्राप्त गर्न नसक्नेहरूले काम गरेन भन्दै सरकारको बिरोध गरिरहेको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज कोशीको दोस्रो प्रदेश अधिवेशनको धरानमा शनिबार उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले देश र प्रदेशभरि सडक सञ्जाल निर्माण, अमेरिका बस्ने छोराछोरीहरूसँग घर बसेरै प्रत्यक्ष संवाद, टोलहरू सहरमा परिणत भइरहेको, बिहान र बेलुकाको छाँक टार्न धौ धौ भइरहेकाको छोराछोरी गाउँबाट सहरमा, टुकीको उज्यालोमा बस्ने विजुली बत्तीमा बसेको, काठमाडौंका साथै यूरोपमा पढन पाएको अवस्थामा पुग्दा पनि विकास भएन भन्न मिल्छ भन्दै प्रश्न गरे ।
‘‘राजनीतिक नियूक्ति नपाउँदा र सरकारमा आफ्नो अनुहार नदेखेपछि विकास भएन भन्न मिल्छ ? विकासलाई व्यक्तिको स्वार्थसँग जोडेर हेर्न मिल्छ ?,’ मुख्यमन्त्री कार्कीले भने, ‘आम नागरिकको विकास भएकै छ । समग्र समाजलाई फाइदा पुग्ने विकासीय काम भएकै छ र भई नै रहेको छ । कोशी प्रदेश सरकारले सडकमा दौडिरहेको विकासलाई घर हुँदै गर्भसम्म नै पु¥याएको छ अनि पनि विकास भएन भन्न मिल्छ ?’ कोशी प्रदेश सरकारले प्रदेशवासीलाई कसरी सरकारको कामले छुन्छ भनेर फरक तरिकाले अघि बढेको उनले बताएका हुन् ।
‘नेताहरुको भाषण मात्रै गर्ने तर त्यो पूरा नगर्ने प्रवृतिले सर्वसाधारणमा निरासा छ तर विकास भएकै छ,’ उनले भने, ‘त्यसैले नेताले जे बोल्छ त्यो पुर्याउनु पर्छ र त्यो प्रदेश सरकारले सुरू गरेको छ ।’ जनताले हाम्रो लागि सोचेर काम गर भनेर नै भोट दिएर नेतालाई जिताएर पठाएको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।