विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को सल्लाहकार नरेश श्रेष्ठको निधन भएको छ । विराटनगरका स्थायी बासिन्दा ७५ वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको हो ।
आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित श्रेष्ठको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारक्रममा निधन भएको हो । उनी डेढ महिनादेखि उपचार्थ थिए । पत्थरी देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आन्द्रामा क्यान्सर देखियो । शल्यक्रियाका क्रममा आन्द्रा काटेर फालिएको थियो, तर जोडिएको आन्द्राबाट ‘लिकेज’ भएपछि उनलाई चार सातादेखि भेन्टिलेटरमा राखिएको थियो ।
नरेशले आफ्नो जीवनको ४५ वर्ष क्रिकेटमै समर्पित गरे । यो यात्रामा उनलाई क्रिकेटका प्रायः सबै पण्डितहरूले पूर्वाञ्चल क्रिकेटको ‘भीष्मपितामह’ उपनाम पनि दिए । उनैको निधन भएको छ ।
उनलाई नजिकबाट चिन्ने क्रिकेटका खेलाडीहरुले ‘नरेश दाइ’ को निधनले कोशी प्रदेशमात्र नभई मुलुकको क्रिकेटले कुशल अभिभावक गुमाएको बताउँछन् । श्रेष्ठले विराटनगरमात्र नभएर तत्कालीन कोशी अञ्चललाई नै क्रिकेटबाट चिनाए ।
श्रेष्ठले विराटनगरमा क्रिकेट क्लबहरू खोल्ने अभियान सुरु गरेका थिए । सुरुमा उनले युथ क्रिकेट क्लब खोले । उक्त क्लबमार्फत वार्षिक रूपमा दर्जन बढी विभिन्न प्रतियोगिता आयोजना गरेर क्रिकेटको विकासमा योगदान गरिरहे । श्रेष्ठको परिवार नै क्रिकेटप्रति समर्पित रहेका छन् । उनका दुई छोरा युनिल र मञ्जित दुवैले राष्ट्रिय टोलीबाट खेले ।
उनकै पहलमा विराटनगरमा बरगाछी क्रिकेट क्लब, गुराँस पुस्तकालय, वीपी कोइराला इन्डो–नेपाल क्रिकेट फाउन्डेशन र पछिल्लो पटक पूर्वाञ्चल क्रिकेट एकेडेमीको जन्म भएको करिब चार दशक श्रेष्ठसँग सहयात्रा गरेका शिरीष उपाध्याय सुनाउँछन् ।
तत्कालीन पूर्वाञ्चल क्रिकेट विकास समितिका अध्यक्ष, उपाध्यक्ष रहेका उनी क्यानको सदस्यदेखि उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिमा सल्लाहकार थिए । २०६३ सालमा क्यानबाट हटाइएका उनी गत वर्ष पुनः सदस्यको रूपमा प्रवेश गरेका थिए ।
क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे नेपाली क्रिकेटमा नरेश श्रेष्ठको योगदान अतुलनीय रहेको बताउँछन् । ‘उनी अम्पायरिङबाट घरेलु क्रिकेटमा आए, राष्ट्रिय प्रतियोगितामा पनि अम्पायरिङ गरे,’ पाण्डेले विगत सुनाए, ‘४० को दशकमा उनी क्यानमा आए, धेरै वर्ष संघमा कार्यकारी सदस्य रहेर क्रिकेट विकासमा तल्लीन रहे । छोराहरूलाई क्रिकेटमा लगाउनु उनको सबैभन्दा ठूलो योगदान हो जस्तो मलाई लाग्छ ।’