पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन: कोइराला

 न्यूज विराट
पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन: कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् ।

व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने प्रस्ट पारे । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक–ट्राफिक चोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

विकल्पसहितको पार्किङको व्यवस्थापन गरेकाले निर्णयबाट पछि नहट्ने मेयर कोइरालाको भनाइ थियो । “हरेक पार्किङस्थलबाट २ देखि ३ मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था छ,” मेयर कोइरालाले भने, “विराटनगरलाई जस्तो छ त्यस्तै छाडिदिऊ भन्नुहुन्छ भने हाम्रो भन्नु केही छैन ।

तर, विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउने हो भने तपाईंहरूले सहयोग गर्नुहोस् ।” सडकमा पार्किङ निषेधले व्यापार भएन भन्नु गलत भएको उनको तर्क थियो । “बानी नपरेका कारण अलि असहज महसुस भएको हुनसक्छ ।

बानी पर्दै गरेपछि सबै ठीक हुन्छ,” उनले भने, “विगतमा कालीमन्दिर अगाडि पनि पार्किङ निषेध गरिएको थियो, त्यस आसपासको व्यापारीलाई समस्या भएन त ।

अनि अहिले आएर अरु सडकलाई पार्किङ निषेध गर्दा समस्या भयो भन्नु ठीक भएन ।” महानगरले पुरानो जलजलाहल उत्तर, शनिमन्दिर पूर्व–दक्षिण, गुद्री, बुधहाटचोकको वी–प्लटसहित विभिन्न स्थानमा पार्किङको व्यवस्थापन मिलाएको छ । बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको समेत सुनाए ।
सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहज रुपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेको उनको भनाइ थियो ।

“समयमै एम्बुलेन्स अस्पताल नपुग्दा बिरामीको मृत्यु हुने अवस्था थियो,” उनले भने, “अनि आगलागी भयो भने दमकल समयमै नपुग्दा बढी क्षति हुन्छ । यस्तो संवेदनशील कुरा तपाईंहरूले बुझिदिनु पर्‍यो ।” मेयर कोइरालाले महानगरलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत ट्राफिक लाइट र सिटीबस सञ्चालनका लागि प्रक्रिया अघि बढाइसकेको समेत जानकारी गराए ।

उपमेयर शिल्पा निराला कार्कीले यात्रु र आमसर्वसाधारणबाट सडकलाई पार्किङ निषेध गरेको प्रति खुसी व्यक्त गरेको बताइन् । उनले विराटनगर बनाउने अभियानमा साथ दिन व्यापारीहरूलाई आग्रहसमेत गरिन् । “विराटनगर हामी सबैको हो,” उनले भनिन्, “हामी सबै मिलेर लाग्यौं भने मात्रै विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौं ।”

वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगतले बजारलाई व्यवस्थित बनाउन सहयोग गर्न व्यापारीहरुलाई आग्रह गरे । सडकबाट पार्किङ हटाउन बजार सुन्दर देखिएको उनको भनाइ थियो । महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले महानगरका अन्य सडकलाई पनि पार्किङ निषेध गर्ने तयारी भइरहेको सुनाए ।

कार्यक्रममा पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, सामाजिक अभियन्ता वसन्त अधिकारीलगायतले महानगरले सुरु गरेको अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरलाई माया गर्ने हरेकले अहिलेको अभियानलाई सफल बनाउन लाग्नुपर्ने बताए । “जोगबनीबाट सामान ल्याउन अहिले कडाइ गरिएको छ ।

सीमामा कडाइ गरेपछि उपभोक्ताहरु उता जाने अवस्थै छै,” अध्यक्ष ढुंंगेलले भने, “त्यसो भए उपभोक्ताहरू विराटनगरमा खरिद नगरेर कहाँ गए त ?”

सडकमा पार्किङ गर्न नदिँदा व्यापार व्यवसाय चौपट्ट भएको भन्दै व्यापारीहरूले महानगरको ध्यानाकर्षण गराएका छन् । छलफलमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, मोरङ व्यापार संघका महासचिव अनिल सारडा, विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीलगायतको सहभागिता रहेको थियो ।

महानगरको अभियानमा साथ दिन तयार भएको बताउँदै उनीहरूले सडकमा पार्किङ गर्न दिएर सवारी साधनलाई एकतर्फी सञ्चालन (वनवे) बनाउन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’ आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा क्लबले इकोनोमी कम्युनिटी र डेभलोप्मेन्ट मन्थ अन्तर्गत ‘वर्कशप’ आयोजना गरेको हो । क्लबे...

मेरिल्याण्डका रमननाथ गिरीलाई मिस्टर पूर्वाञ्चलको उपाधि

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका रमननाथ गिरीले मिस्टर एण्ड मिस पुर्वाञ्चल प्रतियोगिताको उपाधि जितेका छन् । मेरील्याण्ड कलेजमा कक्षा–१२ मा अध्यररत छात्र गिरी विराटनगरमा सम्पन्न भएको मिस्टर पुर्वाञ्चलको उपाधि जित्न सफल भएका हुन् । उनले...

स्वास्थ्य मन्त्रालयले भन्यो -गर्भवती महिलाको मृत्युबारे अनुसन्धान गर्दै छौँ थप सामग्री

काठमाडौं, ३ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको अस्पताल ल्याउँदै गर्दा बाटोमा निधन भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले महिलाको स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याउँदै...

अनुसन्धानमा अब्बल प्रहरी निरीक्षक प्रकाश थापा सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकारीको रुपमा कहलिएका प्रहरी निरीक्षक प्रकाश थापालाई सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक थापालाई २०८१ साल...

संक्रमण समुदायमा फैलिएकोबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

काठमाडौं, १७ भदौ-सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी...

बिहीबार सबै अदालत बन्द

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि बुधबार दिउँसो बसेको सर्वोच्च अदालतको...

अपडेटः सचिवालय बैठक डाकेर ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं, २५ कात्तिक-धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  प्रचण्डका प्रेस संयाेजक  विष्णु सापकाेटा जुगलले अहिले अध्यक्षद्वय ओली र प्रचण्डबीच भेट चलिरहेकाे...

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चरम उत्कर्षमा पुगेको छ । अहिले नेताहरु सामूहिक र एक्लाएक्लै भेटवार्तामा जुटी रहेका छन् । यसैबीच अहिले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्