विराटनगर । मोरङ क्षेत्र नं. ६ (२) मा ११ उम्मेदवारी चुनावी मैदानमा उत्रिएका छन् । गत स्थानीय तहको चुनावमा प्राप्त वडागत मतका हिसाबले यो क्षेत्रका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन नेपाली काँग्रेसका युवा नेता तथा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र नेकपा एमालेका पर्शुराम बस्नेत रहेको देखाउँछ ।
विराटनगर महानगरपालिकाको ५, ६, ७, ९, ११ र १२ नम्बर वडा समेटिएको सो क्षेत्रमा स्थानीय तहको मत परिणाम हेर्दा गठबन्धनको मत एमालेको भन्दा करिब दोब्बर बढी छ ।
वडागत मतका आधारमा यहाँ सत्ता गठबन्धन अगाडि छ । यहाँ सत्ता गठबन्धनको १२७७४ मत छ । नेकपा एमालेको यहाँ ६३४२ मत छ । सो क्षेत्रमा काँग्रेसको मत ९६१५, माओवादीको १९१४, एकीकृत समाजवादीको १२४५ र जसपाको २००९ मत रहेको छ । एमाले र जसपाको गठबन्धन बन्दा एमालेले सो क्षेत्र जसपालाई छाडेको भए पनि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने बेला जसपालाई धोका दिएर एमालेको तर्फबाट बस्नेतले उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्रमा जसपा बाट राजेन्द्र गुप्ता उम्मेदवार छन् ।
स्थानीय तहको मतको आधारमा कार्की बलियो देखिए पनि काँग्रेसभित्रको समस्याको दबाब उनीमाथि छ । काँग्रेसको गुटबन्दीको कारण कतिपय काँग्रेसकै कार्यकर्ताले कार्कीलाई सहयोग गरिरहेका छैनन् भने सो क्षेत्रबाट काँग्रेसकै प्रदेश समिति सदस्य गोपाल रेग्मी स्वतन्त्र उम्मेदवार बनेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहिसकेका उनीसँगै काँग्रेसकै कार्यकर्ता जनार्दन निरौला सोही क्षेत्रमा काँग्रेस बिपीबाट उम्मेदवार बनेका छन् । दुईको उम्मेदवारले बस्नेतलाई उत्साही बनाएको छ । तर, मतान्तर ठुलो रहेको र आफू हरेक मतदातासँग परिचित रहेकोले ढुक्कले चुनाव जित्ने कार्कीको दाबी छ ।
एक–अर्काबिच प्रतिस्पर्धामा आफ्नो जित निकाल्ने रणनीतिमा रहेका सत्ता गठबन्धन र एमालेका उम्मेदवार पहिलो पटक चुनावमा आइरहेको रेग्मीलाई पनि ध्यान दिन थालेका छन् ।
रेग्मी विशेष गरी असन्तुष्ट मत आफूतिर तान्न सक्ने दृश्य देखिरहेका बेला उनले काँग्रेस उम्मेदवार कार्कीको मत काट्ने हुन् भन्ने चिन्ता देखिन्छ ।
एमाले उम्मेदवार बस्नेतको विगत आपराधिक पृष्ठभूमिबाट आएकोले उनले चुनाव जितेर गए विराटनगरमा फेरी गण्डाराजको दबदबा रहने भएकोले चुनाव जिताउन नहुने पक्षमा एमालेभित्रका कतिपय मतदाता देखिन्छन् । बस्नेत विराटनगरमा ‘गुन्डा नाइके’ को रूपमा परिचित थिए । उनले सम्पत्ति शुद्धीकरणको मुद्दा पनि खेपे तर सफाइ पाए । २०६८ मा महेश बस्नेतसँग निकट भएर युथफोर्स मोरङका उपाध्यक्ष बनेपछि उनी गुण्डादर्गीमा संलग्न भए । युथफोर्सको उपाध्यक्ष बनेपछि पर्शुरामको अपराध यात्रामा ‘काउन्ट डाउन’ सुरू भयो । जेलमा परेका अभिषेक गिरीलाई मोरङ जिल्ला अदालतमा पेशी बयान दिन आएका बखत २०६८ जेठ १८ गते पर्शुरामले आक्रमण गराए । त्यसको जिम्मा पनि लिए । त्यही समाचार तत्कालीन नागरिक दैनिकमा कार्यरत् पत्रकार खिलानाथ ढकालले लेखे, पर्शुराम र गिरीको आपराधिक पृष्ठभूमिसँग जोडेर ।
नागरिक दैनिकले प्राथमिकतासाथ पत्रकार ढकालले लेखेको समाचार छाप्यो । त्यो समाचारमा चित्त नबुझेपछि पर्शुरामले ढकालमाथि नै आक्रमण गराएको अभियोग लागेको थियो ।
पर्शुरामको आपराधिक गतिविधिबाट आजित विराटनगरको समुदाय, राजनीतिक पार्टी तथा पत्रकारले ढकाल आक्रमण प्रकरणको बिरोध गरी पर्शुरामविरूद्ध लामो आन्दोलन गरेको थियो । सोही प्रकरणपछि पर्शुराम ‘गुन्डा नाइके’ भनेर चिनिन थालेका थिए । गुण्डागर्दीको आडमा बस्नेत एमाले राजनीतिमा सक्रिय भए । पर्शुरामलाई साथ दिएका महेश बस्नेतसँग उनको सम्बन्ध चिसियो । अहिले दुवै दुस्मनको रूपमा परिचित छन् ।
बस्नेतलाई २०७४ चुनावमा एमाले उम्मेदवार रमेश पोखरेलाई चुनाव हराउन सहयोग गरेको पनि आरोप लाग्ने गरेको छ । त्यही भएर एमाले भित्रका बौद्धिक क्षेत्रका मतदाताहरूले बस्नेतलाई असहयोग गर्ने चर्चा सुरू भएको छ । कार्की र बस्नेतले आफूले जित्नेसम्मको दाबी गरेका बेला सत्ता गठबन्धन र एमालेको घरदैलोमा हिँडिरहेका नेताहरूले भने स्वतन्त्र उम्मेदवार दिएका रेग्मीले मत काट्ने सम्भावना रहेको बताए । यदि उनीहरूको कुरा मान्ने हो भने रेग्मीले काँग्रेस भित्रको कति मत काट्छिन् र कसको पक्षमा जित हात पर्छ भन्ने विषय अहिले मोरङ ६ (२) को हकमा अन्योलपूर्ण छ ।
यो क्षेत्रका मुख्य प्रतिस्पर्धी उम्मेदवारले यहाँको एउटा ‘फ्याक्टर’मा पनि खेल्न खोजेका छन् । सत्ता गठबन्धनभन्दा झन्डै ६ हजार मतले पछाडि रहँदा पनि एमाले उम्मेदवार बस्नेत आफूले नै जित्छु भन्ने मनोविज्ञानमा छन् ।
विशेष गरी एमालेले पार्टीको मत केन्द्रित गर्ने र काँग्रेस भित्रको असन्तुष्ट मत आफूले पाउने बस्नेतले ठानेको छ । सत्तामा रहँदा कार्की विकास निर्माणको क्रममा विवादमा मुछिएको र जितेर गएपछि ६ नम्बर क्षेत्रमा उल्लेखनय काम नगरेको कारणले एमालेले यस पटकको चुनाव जित्ने अपेक्षा गरेको छ ।
घरदैलो र चुनावी कार्यक्रममा पनि एमाले उम्मेदवार बस्नेतलले आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् । ‘एउटा विश्वास, भरोसाले मलाई मत दिनुहुन्छ जस्तो लाग्छ’ आफूले मत पाउने आधार खुलाउँदै उनले कार्यक्रममा भन्दै आएका छन्, ‘आफ्नो गाउँ, ठाउँलाई बुझेको छु । यहाँको समस्याप्रति जानकार छु ।’