विराटनगर । विभिन्न अपराध गरेर फरार भएका अभियुक्तलाई सुनसरी प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको छ ।
विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको हो । सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ गरेर मङ्गलबार एकै दिन ६१ जना प्रतिवादीलाई अदालतमा बुझाइएको छ ।
प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ । जरिवाना तोकिएकालाई त्यसवापतको रकम असुल गरेर छाड्ने गरिन्छ । चालु आर्थिक वर्ष २०७९÷०८० को हालसम्म एक सय ३० जना फरार प्रतिवादीलाई सुनसरीबाट पक्राउ गरिसकिएको एसपी ढकालले बताए ।फरार प्रतिवादी पक्राउ गर्दा २६ वर्ष आठ महिना तीन दिन कैद र चार लाख २० हजार ३४ रूपैयाँ जरिवाना असुल भएको उनको भनाइ छ ।‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं,’ एसपी ढकालले भने, ‘अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमवाट अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि दिएको एसपी ढकालले बताए । ‘अपराध गरेपछी सजाय भुक्तान नगरी वचेर वस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ उनले भने ।
जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको उनले बताए । ‘पीडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई सुनसरी प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ एसपी ढकालले कककक भने ।