नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रदेशसभाको चुनावअगाडि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् । समाजवादी प्रेस संगठनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकीकरणबारे पत्रकारले साेधेकाे प्रश्नमा उनले चुनावअघि एकीकरणको सम्भावना नरहेको स्पष्ट पारे ।
‘एकीकरण भइहाल्छ कि भन्ने कतिपयमा बुझाइ छ,’ उनले भने, ‘आगामी चुनावअघि कुनै पनि पार्टीसँग हाम्रो एकताको सम्भावना छैन ।’ अध्यक्ष नेपालले आगामी चुनावसम्म अहिलेकै गठबन्धनले निरन्तरता पाउने पनि बताए ।
आवश्यक भएका ठाउँमा गठबन्धनबीच चुनावमा तालमेल हुने उनले बताए । अध्यक्ष नेपालले सबै कम्युनिस्ट पार्टीबीच वामएकता भएर चुनावमा जाने सम्भावना तत्काल नरहेको समेत प्रष्ट पारे । समाजवादीले एक्लै जित्ने ठाउँमा एकल उम्मेदवारी दिने र आवश्यक भएका ठाउँमा गठबन्धनबीच तालमेल गरेर जाने उनको भनाइ छ ।
नेपालले अहिले कुनै पार्टीसँग एकता गर्नेतिर भन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तारमा ध्यान दिइरहेको बताए । उनले नीति, कार्यक्रम, विगत र व्यवहारका आधारमा चुनाव जित्ने भएकोले ती कुरा आफूहरूसँग भएको पनि दाबी गरे ।