प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रियसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरू सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो ।
तर, प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकाले अर्थमन्त्रीको राजीनामा माग गरेको हो । एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जेल आफूहरू अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताए ।
उहाँले अर्थमन्त्री शर्माले देशद्रोही र घातक काम गरेको उल्लेख गरे । सांसद श्रेष्ठले आफूहरूले बैठकमा अर्थमन्त्रीको कार्यसूची बहिष्कार गर्ने बताएसँगै एमाले सांसदहरू बाहिरिएका थिए ।
एमालेले अर्थमन्त्रीलाई बहिष्कार गरेसँगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो प्रस्ताव पेस गर्न अर्थमन्त्री शर्मालाई आग्रह गरेका थिए । बैठकमा अर्थमन्त्रीले पेस गरेको ‘आर्थिक विधेयक २०७९ लाई मुल रूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।
त्यस्तै, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई मूल रूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको घोषणा गरे । त्यसैगरी, अर्थमन्त्री शर्माले पेस गरेको ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक २०७९ लाई मूल रूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पनि बहुमतले पारित भएको छ । अर्थमन्त्री शर्माले पेस गरेको प्रस्तावमाथिको कारबाही सकिएलगत्तै एमाले सांसदहरू पुनः राष्ट्रियसभा बैठकमा भाग लिन प्रवेश गरेका थिए ।