नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् ।
गभर्नर प्रकरणदेखि कर हेरफेरसम्म एकलौटी ढंगले अघि बढ्दा पार्टी छविमा आँच पुगेको भन्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका हुन् ।
एकल रूपमा अघि बढ्दा पार्टीको छविमा समेत आँच पुगेको भन्दै उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे शर्मासँग प्रश्न गरेका थिए । प्रचण्डले आइतबार आफ्नै निवास खुमलटारमा बोलाएर अर्थमन्त्री शर्मासँग छलफल गरेको सचिवालयले जनाएको छ ।
‘अध्यक्ष प्रचण्ड र अर्थमन्त्री शर्माबीच खुमलटारमा छलफल भएको थियो । दुई पक्षबीचको छलफलबारे आधिकारिक जानकारी भने छैन,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने । अर्थमन्त्री शर्माको गतिविधिबारे आफूले गठबन्धनका दललाई जवाफ दिनुपर्ने प्रचण्डको भनाइ थियो ।