काठमाडौं, ५ वैशाख ।सरकारले अत्यावश्यक क्षेत्रमा काम गर्नेबाहेकका सरकारी कर्मचारीको इन्धन खर्च कटौती गरेको छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत १० प्रतिशत इन्धन खर्च गरिएकोमा यसलाई बढाएर २० प्रतिशत पुर्याएको छ । अर्थ मन्त्रालयले सोमबार परिपत्र जारी गर्दै चालु आर्थिक वर्षको बाँकी अवधिमा इन्धन खर्चबापतको बजेट २० प्रतिशतले कटौती गर्ने जनाएको हो ।
‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघसंस्थाले बॉकी बजेटको २० प्रतिशतले कटौती गर्दछ । यो निर्णय विकास आयोजनाहरू शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागू हुनेछैन,’ अर्थ मन्त्रालयको पत्रमा भनिएको छ ।
निर्णय पालनाको अनुगमन केन्द्रीय निकाय, सबै संवैधानिक निकाय, प्रदेशका हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने अर्थ मन्त्रालयले जनाएको छ ।
विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले इन्धनको खपत घटाउने अभियान सुरु गरेको जनाएको छ । पहिलो चरणमा सरकारी कर्मचारी तथा कार्यालयमा छुट्याइने इन्धनबापतको बजेट २० प्रतिशतले कटौती गरिएको हो । यसका साथै हप्तामा दुई दिन बिदा दिने तयारीमा पनि सरकार छ ।