काठमाडौं, २ माघ । अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थीका अभिभावक र नोबेल मेडिकल कलेजबीच भएको सहमतिप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । केही अभिभावकले आर्थिक प्रलोभनमा परेर सहमति गरेको भन्दै नोबेल मेडिकल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले विरोध गरेका हुन् ।
आइतबार अनेरास्ववियु, चिकित्सा शिक्षा संघर्ष समिति, नेपाल विद्यार्थी संघ, नेकपा (एस) निकट अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलन नरोकिने बताएका छन् ।
‘केहि बिकाउ अभिभावकले ५ बुँदे सहमति गरेको कार्यप्रति हामी संयुक्त विद्यार्थी संगठन र पीडित विद्यार्थीको गम्भीर आपत्ति रहेको छ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘आर्थिक प्रलोभनमा परेर ४ जना बिकाउ अभिभावकले संयुक्त विद्यार्थी संगठन, चिकित्सा शिक्षा संघर्ष समिति, पीडित विद्यार्थी र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको अनुपस्थितिमा गरेको सहमति हामीलाई मान्य छैन ।’