काठमाडौं, २९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको पुँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी गरेका छन् । केही दिनअघि उनले शेयरबजारलाई साम्राज्यवादको विकसित रूपको संज्ञा दिएपछि चौतर्फी आलोचना भएको थियो ।
प्रचण्डको यो अभिव्यक्तिप्रति लगानीकर्ताहरूले आक्रोश पोखेका थिए भने बुधबार मात्रै एमाले अध्यक्ष केपी ओलीले चन्दा नपाएपछिको अभिव्यक्ति करार गरेका थिए । ओलीको यस्तो आरोपपछि प्रचण्डले आज वक्तव्य जारी गर्दै भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे आफूले गरेको विश्लेषण सही रहेको जिकिर गरेका हुन् ।
दाहालले ओलीलाई उल्टै दलाल पुँजीपति वर्गको एजेन्टको आरोप लगाएका छन् । ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेण्टको टिप्पणीका रूपमा खारेज गर्दछु’, प्रचण्डले भनेका छन् ।
उनले अघि भनेका छन्, ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयरबजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताहरूको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पुँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’