नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रूपन्देहीको मतगणनास्थलमा कुटाकुट भएको छ । कुटाकुटमा परी महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका दीर्घबहादुर केसी घाइते भएका छन् ।
रूपन्देहीको क्षेत्र नं. २ को मतगणनास्थलमा दुइ पक्षबीच विवाद सिर्जना भएपछि कुटाकुट भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने संस्थापन (शेरबहादुर देउवा) पक्षले आफ्ना उम्मेदवार कुटेको आरोप लगाएको छ ।
महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको थियो । त्यसैक्रममा विवाद हुँदा पौडेल पक्षबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका केसी कुटिएका हुन् ।
केसीको मुखमा चोट लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको कांग्रेसका नगर सभापति खेलराज पाण्डेले जानकारी दिए ।