जागिरको प्रलोभनमा पारेर १५ लाख ठग्ने व्यक्ति पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने निलम भट्टराई प्रहरीको फन्दामा परेका हुन् ।
महानगरीय अपराध महाशाखाले झापा सुरुङ्गा कनकाई नगरपालिका–३ घर भई हाल चाबाहिल बस्ने ३५ वर्षीय भट्टराईलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार भट्टराईले तनहुँ शुक्लागण्डकी ३० वर्षीया दुर्गा पौडेल न्यौपाने ठगेका हुन् । उनले राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगादिने भन्दै १५ लाख रुपैयाँ लिएका थिए । दुर्गालाई विश्वास दिलाउन उनले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकारसमेत रहेको भन्दै ढाँटेका हुन् ।
१५ लाख रुपैयाँ पाएपछि पनि उनले तनहुँ रहेकी न्यौपानेलाई अनुसन्धान अधिकृतको जागिर पक्का भएको र ४५ दिन तालिमको लागि सिन्धुली जानुपर्छ भन्दै काठमाडौं बोलाएका थिए । न्यौपाने काठमाडौं पुगेपछि भने भट्टराई फरार भए । त्यसपछि ठगिएको थाहा पाएर दुर्गाले प्रहरीमा उजुरी दिएकी हुन् ।
उजुरीको आधारमा खोजतलास गरेको प्रहरीले भट्टराईलाई सुर्खेतबाट पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी कोइरालाले जानकारी दिए ।