विराटनगर, १३ भदौ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढिकरण अभियान सुरु गरेको छ ।
मुक्ति समाजले जिल्लाका १७ वटै स्थानीय तहका सवै वडामा संगठन सुदृढिकरण अभियान तिब्रताका साथ अघि बढाएको हो । अभियान अन्तर्गत रतुवामाईमा १० वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।
रतुवामाईको शनिश्चरेमा सम्पन्न नगरस्तरीय भेलाले कुलदीप दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो । भेलाले उपाध्यक्षमा रामबहादुर खाती, सचिवमा सन्तलाल हरिजन, सह–सचिवमा ओमप्रकाश सुन्दास र कोषाध्यक्षमा कमला सुन्दासलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा मनकुमारी विशुंखे, सन्तलाल हरिजन, रामबिलास ऋषिदेव, बरपलाल हरिजन, रामकुमार पासवान, रोजिना बि.क., कुमारपरियार लगायत रहेका छन् ।
नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा (एमाले) मोरङका सचिवालय सदस्य, मुक्ति समाजका केन्द्रीय सदस्य तथा मोरङका सह–इन्चार्ज जित नारायण सदरदार, प्रदेश कमिटी सदस्य छत्र बराइली, मोरङ अध्यक्ष किशोर विश्वकर्मालगायतले शुभकामना व्यक्त गरे ।
सो अबसरमा उनीहरुले दलित समुदायका साझा सवालको अगुवाई मुक्ति समाजले गर्दै आएको बताए । उनीहरुले आम दलित समुदाय राजनीतिक रुपमा संगठित भएमात्र आफ्ना हक अधिकार स्थापित र कानुन कार्यान्वयन गराउन सफल हुने बताए ।
नेताहरुले सवैभन्दा विपन्न र भूमिहिन दलित समुदाय रहेका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सोही समस्या समाधान गर्न भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको बताए ।
उनीहरुले जग्गा वितरण गर्न लागेका बेला जनादेशबाट नभई परमादेशबाट बनिएको सरकारले आयोग खारेज गरेर लाखौँ भूमिहिन दलित समुदायमाथि कुठाराघात गरेको आरोप लगाए ।