काठमाडौं, १३ भदौ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय २२ भदौसम्मका लागि मात्रै उपलव्ध गराउने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशले विभाजित दलमा आवद्ध हुन २१ दिनको समय दिने व्यवस्था थियो ।
त्यही व्यवस्थामा टेकेर आयोगले २२ भदौसम्म मात्रै समय दिएको हो । ९ भदौमा एमाले विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएको थियो र जसपा विभाजित भई लोकतान्त्रिक समाजवादी पार्टी नयाँ दल दर्ता भएका थिए । तर, नयाँ दलमा आवद्ध हुनका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २ भदौदेखि २१ दिन समय तोकेको छ ।
दल दर्ताका लागि निवेदन दिएको दिनदेखिको समय तोकेको निर्वाचन आयोगले जनाएको छ ।
दल दर्ता भएको भन्दा पनि दल दर्ताका लागि निवेदन दिएको दिनबाट २१ दिन गणना गर्ने निर्णले जनप्रतिनिधिलाई छिटो निर्णय गर्न दबाब परेको छ । त्यसैगरी, प्रदेशसभा संसदीय दल गठनका लागि पनि छिटो गर्न एकीकृत समाजवादीलाई दबाब परेको छ ।