काठमाडौं, ३ भदौ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ ।
वायुसेवा निगमलाई निजीकरण गर्न लागेको भन्दै पौडेललाई निगमका कर्मचारीले पछिल्लो डेढ महिनादेखि कार्यालय प्रवेशमा रोक लगाएका छन् । कार्यालय प्रवेश गर्न नपाएपछि महाप्रबन्धक पौडेललाई मन्त्रालयमा हाजिर हुन भनिएको हो ।
स्रोतका अनुसार मन्त्रालयमा हाजिरका लागि मात्रै बोलाइएको र उनका लागि कार्यकक्ष दिइएको छैन ।मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त गरिएकाले उनलाई सचिवस्तरीय बैठकबाट भने सुरूवा गर्न सकिँदैन । यद्यपि निगममा प्रवेश नपाएपछि उनलाई मन्त्रालयमा आएर हाजिर हुन भनिएको हो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २१ असोज २०७७ मा महाप्रबन्धकमा नियुक्त भएका उनलाई नयाँ सरकार गठन भएसँगै हटाउने तयारी गरिएको छ । यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाप्रबन्धक पौडेललाई हटाउने संकेत गरेका थिए ।
वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको प्रतिनिधिमण्डलसँगको भेटमा प्रचण्डले निगमलाई निजीकरण गर्ने काम आपराधिक क्रियाकलाप भएको भन्दै गलत काम गर्नेहरूलाई सरकारले हटाउने नीति लिएको बताएका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा पनि वायुसेवा निगम कमजोर व्यवस्थापनका कारण निरन्तर घाटामा गएको भन्दै व्यवस्थापकीय पाटोमा सुधार गर्ने उल्लेख गरेका थिए ।