काठमाडौं, २३ साउन । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा गए रातिदेखि भएको आगलागी लगभग नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणमा लिनका लागि दमकल तथा हेलिकप्टरको प्रयोग गरिएको थियो ।
औद्यौगिक क्षेत्रका अध्यक्ष एन के बस्नेतले विद्युत् सट भएर आगलागी भएको हुन सक्ने बताए । बस्नेतले बाँदरका कारण आगलागी भएको हुन सक्ने पनि बताए ।
प्रहरीका अनुसार आगलागी नियन्त्रणमा हेलिकप्टरको प्रयोग गरिएको भए पनि त्यसको प्रभावकारिता भने कमै देखिएको थियो । छानामुनि आगलागी भएकाले हेलिकप्टर कम प्रभावकारी भएको प्रहरीको भनाइ छ ।
क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास गरिएको थियो । आगलागीको कारण र क्षतिको विवरण भने आइसकेको छैन ।