सञ्चारकर्मी रूपा सुनारले विभिन्न अनलाइनहरूविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । उनले आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै ९ वटा अनलाइनविरुद्ध उजुरी दिएकी हुन् ।
काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय विभेद गरेपछि न्याय माग्दा आफ्नाबारेमा भ्रम फैलाएको भन्दै उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित रूपमा उजुरी दिएका छन् । उनले जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याएको र आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै साइबर अपराधअन्तर्गत कारबाहीको माग गरेकी छन् ।
‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ,’ उनले उजरीमा लेखेकी छन्, ‘मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनलाई साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु ।’