काठमाडौं, फागुन १५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गर्नुभएको छ । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरू तयारी अवस्थामा रहेको भट्टराईको भनाइ छ ।
प्रमुख सचेतक भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको जिकिर गर्नुभयो । ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दावाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भने पनि एक सयभन्दा बढी सांसद छन्’, भट्टराईको भनाई छ ।
उहाले जनताले नेकपालाई झण्डै दुई तिहाइ बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरूको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरू भएको सुनाउनु भयो । उहाले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने खेल सुरू भयो, यसको आभाष पाउनेबित्तिकै उहाँसँग दुई वटा विकल्प थिए, एउटा आत्मसमर्पण गर्ने, अर्को संसद विघटन गर्ने, यो बाहेक उहाँसँग अर्को विकल्प थिएन । उहाँले भारी मनका साथ प्रतिनिधिसभा विघटन गर्नुभयो ।’
प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरू पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उहाको भनाइ छ । सर्वोच्च अदालतले पुस ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने पनि उहाले सुनाउनु भयो । उहाले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिस गरिसकेको जानकारी दिनुभयो ।
संसदमा प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव आए आफूहरूले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईले जनाउनु भयो । उहाले आफूहरूले प्रचण्ड र माधव कुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाउनु भयो ।
संसदको अधिवशेन (फागुन २३) गते अघि नै आफूहरूको संसदीय दलको बैठक बस्ने जानकारी दिनुभयो । उक्त बैठकमा सहभागी हुनको लागि दाहाल–नेपाललाई पनि सचेतक भट्टराईले आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीविरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरूले डटेर सामना गर्ने बताउदै पार्टीका सांसदहरूले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने पनि उहाले चेतावनी दिनुभयो ।