गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसद् विघटन संवैधानिक काम भएको बताएका छन् । नेकपा चितवनद्वारा आयोजित जनसभामा उनले भने, ‘यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईं जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ ।’
उनले आफूहरू गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताए । पार्टीले अहिले शुद्धीकरण अभियान अघि बढाएको भन्दै उनले पार्टीभित्र अवसरवाद, विकृतिविरुद्धको शुद्धीकरण भइरहेको बताए ।
आम नागरिक राष्ट्रिय एकताको पक्षमा भइरहँदा अवसरवादीहरू पार्टीबाट किनारा लागेको उनको भनाइ थियो । ‘उनीहरूले देशमा अस्थिरता चाहन्छन्, तर हामी देशलाई स्थायित्व दिन चाहन्छौँ’ उनले भने, ‘स्थायित्वबिना प्रगति सम्भव छैन, समाजवाद स्थापना गर्न सक्दैनौँ ।’
पार्टी छाडेर गएकाहरूलाई आफ्ना गल्ती र कमजोरी स्वीकारेर पार्टीमा फर्किन आग्रह गर्दै गृहमन्त्री थापाले भने, ‘आउनुहोस् पार्टीमा फर्किनुहोस्, जनता एकता चाहन्छन्, विकास चाहन्छन् ।’