विराटनगर, १४ माघ । प्रदेश १ मा आजदेखि ८ वटा जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. चुमनलाल दासलाई कोभिशिल्ड खोप लगाएर अभियान सुरु गरिएको हो ।
दोस्रो नम्बरमा कोशी अस्पतालकै फिजिसियन डाक्टर दिपक सिग्देललाई पनि खोल लगाइएको थियो । खोप लगाएपछि प्रतिक्रिया दिँदै डाक्टर सिग्देलले खोपले कुनै साइड इफेक्ट नगर्ने बताए ।
औपचारिक कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो । यो खोप पहिलो चरणमा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका ३५ हजार ५ सय ७६ जनालाई लगाइने छ ।
आज पहिलो चरणमा ५८२ जना चिकित्सकलाई खोप लगाउने तयारी गरिएको छ । मोरङ र सुनसरीमा ४र४ वटा खोप केन्द्र तय गरिएको छ भने झापामा ३ वटा खोप केन्द्र तय गरिएको छ ।