नेकपाका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन् । उनले शुक्रबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१, सापिङस्थित रिट्ठेमा आज सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे भवनको उद्घाटनका क्रममा नेकपामा पदको चाहना गर्नेले धैर्यता राखेर महाधिवेशन कुर्न आग्रह गरेका हुन् ।
नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका बाँस्कोटाले महाधिवेशन कुर्न पनि धैर्यताको वैज्ञानिक आधार हुनुपर्ने बताए । ‘पार्टीभित्र व्यक्तिगत आरोप-प्रत्यारोपमा उत्रनु हुन्न, यसले समस्या झन् बल्झाउँछ, तथ्यगत रूपमा बहस-विमर्श हुनु जरुरी छ,’ उनले भने ।
उनले नेकपा मिलाउने जिम्मा नेकपाकै भएकाले नेकपा नफुट्ने दाबीसमेत गरे । ‘नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन,’ नेता बाँस्कोटाले भने । उनले नेकपामा विवादमा अधिकतम सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुङ्गो लाग्नुपर्ने बताए ।
‘जनताको चाहना नेकपा एक भएको हेर्ने नै छ, छ/छ महिनामा सरकार फेरिएको हेरिरहेका जनताले पाँचवर्षे एउटै सरकार भएको हेर्ने चाहना हो, त्यसमा पनि राजनीतिक स्थिरता मूल कुरा हो,’ उनले भने ।