काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । नेपालमा कुल संक्रमितमध्ये ०.६ प्रतिशत संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।
त्यस्तै, संक्रमणबाट गम्भीर रहेका ३९८ जना भेन्टिलेटरमा रहेका छन् । ३३५ जना आईसीयू र ६३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
देशभर पछिल्लो २४ घन्टामा १० हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यका थप १ हजार ७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, आज ३ हजार ४३ जना डिस्चार्ज भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।