नाम्खा गाउँपालिका–६ स्थित टाकुलेमा सीमास्तम्भ फेला परेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले बताए । ‘चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको टोलीले बुधबार टाकुलेमा ११ नम्वर पिल्लर फेला पारेको छ,’ उनले भने, ‘विस्तृत विवरण भने प्रजिअ सदरमुकाम फर्केपछि थाहा होला ।’
सीमा प्रहरी चौकी हिल्साभन्दा करिब पाँच हजार दुई सय मिटर उचाईमा ११ नम्बर पिल्लर फेला परेको गाउँपालिका अध्यक्ष तामाङले बताए ।हराएको पिल्लर खोज्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित दुई छुट्टाछुट्टै टोली सीमा क्षेत्रमा खटाइएको थियो । सो सीमास्तम्भ २०१९ सालमा दुई देशको सीमामा गाडिएको थियो । ५८ वर्षपछि नेपाली टोलीले सो सीमास्तम्भ भेटेको हो ।