मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
शुक्रबार प्रतिष्ठानको ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो । यसअघि आइतबार दिउँसो विराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो ।
उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई १६ भदौमा कोराना पुष्टि भएको थियो । उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ ।
यस्तै, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि २२ भदौमा प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाले बताए ।
२२ भदौमा अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा २४ भदौमा उनको कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो ।
उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले जानकारी दिए । रासस